
खोटाङ, ५ चैत । हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरी पीडित परिवारलाई राहत स्वरुप घरको छाना लगाउनका लागि जस्तापाता वितरण गर्ने भएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छानामा पूर्ण रुपमा क्षति पु¥याएका पीडित परिवारलाई नगरपालिकाले जस्तापाता प्रदान गर्ने निर्णय गरेको हो ।
एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पु¥याएको छ । हावाहुरीले वडा नं.–१ बाहुनीडाँडाका १२, वडा नं.–२ डिकुवाका चार, वडा नं.–३ च्यास्मीटारका २८, वडा नं.–८ धितुङका तीन र वडा नं.–११ राजापानीका पाँच घर स्थानीयवासीकामा क्षति पु¥याएको जनाइएको छ ।
हावाहुरी पीडित परिवारलाई पुनः स्थापित गराउन नगरपालिकाको तर्फबाट जस्तापाता प्रदान गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “घरको छाना उडाइदिएपछि खुला आकाशमुनि बस्न बाध्य छन् । उनीहरुलाई नगरपालिकाले तत्काल जस्ता उपलब्ध गराउने तयारी थालेको छ”, उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन कोषबाट जस्ता खरिद गरेर पीडितलाई प्रदान गर्ने योजना बनाएका छौँ । थप राहत रकम चैत–९ गतेको हिउँदे सभामार्फत बजेट संशोधन गरेर जुटाइने छ ।”
हावाहुरी पीडित परिवारलाई घरको आकारअनुसार जस्तापाता प्रदान गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । छाना लगाउन जस्तापाता उपलब्ध नभएसम्मका लागि सोही घरमा बस्ने वातावरण मिलाउन नगरपालिकाले ३१ घर पीडित परिवारलाई त्रिपाल उपलब्ध गराएको छ ।
यस्तै, हावाहुरीले छाप्रो उडाइदिएपछि विचल्लीमा परेका तीन घर पीडित परिवारलाई ढुङ्गामाटोको घर निर्माणमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ । उनीहरुका लागि नगरपालिका प्राविधिक टोलीले घरको नक्सा निर्माणको काम सुरु गरेको छ ।
हावाहुरीले बाहुनीडाँडास्थित मालिकादेबी मावि कदुवा, पञ्चावतीदेवी आवि बेता र बेलडाँडा आवि ढोडेनीको छाना उडाइदिएको छ । यस्तै, च्यास्मीटारस्थित नमुना आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयको छाना उडाइदिएको छ ।
राजापानीस्थित जलन्धारा आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयको पनि छाना छरपष्ट बनेको छ । बाहुनीडाँडाको बरडाँडा सामुदायिक खोपकेन्द्रमा समेत क्षति पुगेको वडाध्यक्ष रुद्र राईले जानकारी दिनुभएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकामा सामुदायिक संस्था तथा मण्डलीहरुमा पनि क्षति पुगेको स्थानीयले जानकारी दिएका छन् । सामुदायिक संस्था तथा मण्डलीहरुमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको नगरपालिकाले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा हावाहुरीले लाखौँको क्षति गरेको तथ्याङ्क सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । हावाहुरीका कारण जिल्लामा भएका क्षतिको विवरण सङ्कलन गरेर प्रदेश प्रहरी कार्यालयमा पठाइएको जनाइएको छ ।
हावाहुरीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा समेत क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । हावाहुरीले कृषिबालीमा गरेको क्षतिको विवरण सङ्कलन गर्न जिल्लाका दशवटै स्थानीय तहमा प्राविधिक टोली परिचालन गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख विशाल मोदीले जानकारी दिनुभएको छ ।
