Monday, April 20

दलाल पुँजीवादी व्यवस्थाले नेपाली समाजको अन्तरबिरोध हल हुँदैन : नेता हिङमाङ

–रामधन राई
खोटाङ, ८ चैत । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य राजकुमार हिङमाङले विश्व र नेपालको कम्युनिष्ट आन्दोलन सङ्कटग्रस्त अवस्थामा पुगेको सङ्केत गर्नुभएको छ । केन्द्रीय सदस्य हिङमाङले नेपाली समाजको अन्तरबिरोधहरुको हल नगरेको खण्डमा आगामी दिनमा अघि बढ्न नसकिने बताउनुभयो ।

खोटाङको दिक्तेलबजारमा पत्रकार सम्मेलन गर्दै सदस्य हिङमाङले पार्टी बनाउने नाममा मात्र पार्टी गठन गरेको नभइ कम्युनिष्ट आन्दोलनलाई मूर्तरुप दिन आफ्नो पार्टी आवश्यक रहेको बताउनुभएको छ । हलेसी न्यूज नेटवर्क प्रालिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा हिङमाङले आफ्नो पार्टी दलाल पुँजीवादी व्यवस्थाको बिरोधमा रहेको स्पष्ट पार्नुभयो ।

पुँजीवादी व्यवस्थाले नेपाली समाजको अन्तरबिरोधहरुलाई हल गर्न नसकेको उहाँको भनाइ छ । मुख्य पाँच अन्तरबिरोधहरु वर्गीय अन्तरबिरोध, पितृसत्तामा आधारित अन्तरबिरोध, जात व्यवस्थामा आधारित अन्तरबिरोध, जातीय अन्तरबिरोध र वैदेशिक हस्तक्षेपमा आधारित अन्तरबिरोधहरु हल नगरी नेपाली समाजको समस्या समाधान नहुने नेता हिङमाङको जिकिर छ ।
यस्ता विषयलाई पुराना पार्टीहरुले यदाकदा कोट्याउन खोजे पनि जरामा अर्थात आधारभूत पक्षमा पुग्न नसकेको उहाँको भनाइ छ । देशमा भएको विभिन्न काल खण्डको आन्दोलन, दश वर्षे जनयुद्ध तथा त्यसले ल्याएको परिवर्तनहरुले समेत जनताका आधारभूत समस्याहरुलाई सम्बोधन गर्न नसकेका कारण वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी गठन गरिएको उल्लेख गरिएको छ ।

नेपालमा कम्युनिष्ट आन्दोलन तथा विश्व कम्युनिष्ट आन्दोलन नै छाँयामा पर्दै गएको कारणले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीमार्फत क्रान्ति अघि बढाउने दृष्टिकोण रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

केन्द्रीय समिति, ब्यूरो समिति र स्थानीय समितिको संरचनामा रहेको उक्त पार्टी पदानुक्रम (हाइरारकी)मा आधारित नहुने उल्लेख गरिएको छ । तल्लो तहका समिति निर्माण हुने र सोही समितिहरुले स्वायत्त ढङ्गले निर्णय गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

पार्टीले ब्यूरो संरचनाहरु पहिचानमा आधारित रहेर निर्माण गरिएको समेत केन्द्रीय सदस्य राजकुमारले जनाउनुभयो । उहाँका अनुसार किरात, लिम्बुवान, कोचिला, भोजपुरा, ताम्सालिङ, नेवाः जस्ता नेपालका पहिचानमा आधारित समुदाय अर्थात् समाजको आधारमा ब्यूरो संरचना निर्माण गरिएको छ ।

विश्वभक्त दुलाल (आहुती)को नेतृत्वमा वि.सं. २०७८ सालमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल स्थापना भएको थियो । सो पार्टीले ‘कम्युनिष्ट पुनः जागरण अभियान’ प्रस्तावसमेत अघि सारेको छ ।

विश्व र नेपालको कम्युनिष्ट आन्दोलन सङ्कटग्रस्त अवस्थामा पुगेको भन्दै आजको युगको पुँजीवादसँग लड्न सक्षम वैचारिक, राजनीतिक, सङ्गठनात्मक र वर्ग सङ्घर्षका क्षेत्रमा अनिवार्य विचारको विकासका लागि यस्तो प्रस्ताव अघि सारिएको जनाएको छ । समाजवादको यात्रालाई जोड दिँदै २५ वटा केन्द्रमार्फत सामुहिक उत्पादनलाई समेत जोड दिएर लागिरहेको पार्टीले जनाएको छ ।

उत्पादनलाई व्यवस्थित गर्दै थोरैमा पाँच र धेरैमा ४९ जनाको समूह बनाएर उत्पाद कार्य गरिरहेको जनाइएको छ । देशको ७७ वटै जिल्लामा सम्पर्क तथा ५० भन्दामाथि जिल्लामा कार्य समिति गठन गरेको उक्त पार्टीले जनाएको छ ।

नेपाल बाहेक १५ देशमा सङ्गठित संरचना रहेको पार्टीको सहकर्मी अर्थात जनवर्गीय र शुभचिन्तक सङ्गठनहरु रहेको उल्लेख छ । नेपाली समाज मात्र नभइ विश्व समाज नै पुँजीवादको चङ्गुलमा फस्दै गएको र सो व्यवस्थाबाट समाजको प्रगति नहुने सो पार्टीको ठहर छ ।