Monday, April 20

हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका ९४ परिवारलाई निःशुल्क जस्तापाता

खोटाङ, २२ चैत । हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ घर पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो ।

हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “विपद्मा परेका नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन नगरपालिकामा विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले १७० भन्दा बढी घरहरुमा क्षति गरेको थियो । जसमध्ये पूर्ण क्षति भएका ९४ घरलाई जस्तापाता उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “जस्तापाता प्राप्त गर्ने पीडित घरपरिवारले छाना लगाउने काम आफै गर्नुहुन्छ । बाँकी पीडित परिवारलाई नगरपालिकाको तर्फबाट त्रिपाल लगायतका राहत सामग्री खरिद गरेर उपलब्ध गराएका छौँ ।”

नगरपालिकाले पाँच घर एकल महिला, एक घर एकल पुरुष र चार घर जङ्गलमा बसिरहेका नगरवासीलाई समेत जस्तापाता उपलब्ध गराएको जनाइएको छ । सम्बन्धित वडा कार्यालयको सिफारिस तथा प्राविधिक मूल्याङ्कनको आधारमा प्रतिघर रु ४० हजारदेखि रु ६० हजारसम्मको जस्तापाता उपलब्ध गराइएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ ।

एघार वडा रहेको हलेसी तुवाचुङले वडा नं. १ बाहुनीडाँडाका ११, वडा नं. २ डिकुवाका दश, वडा नं. ३ च्यास्मिटारका ३२, वडा नं. ४ बडहरेका चार, वडा नं. ५ दुर्छिमका दुई, वडा नं. ६ सल्लेका तीन, वडा नं. ७ महादेवस्थानका १२, वडा नं. ८ धितुङका दश र वडा नं. ११ राजापानीका दश घरलाई जस्तापाता उपलब्ध गराएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार निःशुल्क जस्तापाता प्राप्त गर्ने नागरवासीले काठपात तथा किलाकाँटी आफै जाहो गरेर छाना लगाउनुपर्नेछ ।

हावाहुरी पीडित च्यास्मिटारका १७ घरपरिवारलाई सोही ठाउँका शिक्षकहरुले चन्दा सङ्कलन गरेर राहत उपलब्ध गराएको थियो । स्थानीय पिपलटार आधारभूत विद्यालयका प्रधानाध्यापक कुम्भराज राईको संयोजकत्वमा गठित चन्दा सङ्कलन समितिले चैत–११ गते पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा चैत–२ गतेको हावाहुरीले लाखौँको क्षति गरेको प्रहरीले जनाएको छ । हावाहुरीले जिल्लाका दशवटै स्थानीय तहमा क्षति गरेपनि अहिलेसम्म हलेसी तुवाचुङ नगरपालिकाबाहेक अन्य स्थानीय तहले राहत तथा क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाएको छैन ।

रातको समयमा चलेको हावाहुरीले विद्यालय भवन, प्रहरी चौकी तथा कृषिबालीमा समेत ठूलो क्षति गरेको छ । कृषिमा भएको क्षतिको विवरण सङ्कलन गरेर क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख विशाल मोदीले जानकारी दिनुभएको छ ।