Thursday, June 4

जन्तेढुङ्गा गाउँपालिकाले सुरु ग¥यो राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान

खोटाङ, २९ चैत । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान सुरु गरेको छ । स्थानीय बासिन्दाले वन क्षेत्रमा जथाभावी घाँस तथा दाउरा सङ्कलन गर्नेक्रममा लालीगुराँसका रुख तथा बिरुवामा क्षति पुगेर सङ्टकमा परेको पाएपछि गाउँपालिकाले संरक्षण अभियान सुरु गरेको हो ।

जथाभावी वन फँडानीका कारण लालीगुराँसको संरक्षणमा गम्भीर समस्या उत्पन्न भइ यसको अस्तित्व नै जोखिममा पर्ने अवस्था देखिएकाले संरक्षण अभियान सुरु गरिएको गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ । “लागीगुराँस हाम्रो राष्ट्रिय फूल हो । वनको सौन्दर्य र जैविक विविधताको महत्वपूर्ण अङ्श भएकाले यसको संरक्षण अत्यन्त आवश्यक छ”, उहाँले भन्नुभयो, “सबै वन उपभोक्ता तथा स्थानीय बासिन्दाहरूलाई वन क्षेत्रमा घाँस तथा दाउरा सङ्कलन गर्दा गुराँसका बिरुवालाई कुनै पनि प्रकारको क्षति नगर्न अनुरोध गरेका छौँ । लालीगुराँसका हाँगा भाँच्ने, फूल टिप्ने तथा गुराँसका बिरुवाहरुलाई हानी पुग्ने खालको गतिविधि नगर्न÷नगराउनसमेत गाउँपालिकावासीलाई सूचित गरिएको छ ।”

वन तथा वातावरणको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी भएकाले लालीगुराँसको संरक्षणमा सबैको सक्रिय सहयोगका लागि गाउँपालिकाको तर्फबाट सार्वजनिक सूचना प्रकाशन गरेर संरक्षण अभियानमा सहभागी हुन अपील गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको अधिकांश सामुदायिक तथा निजी वनमा लालीगुराँस पाउने गरिएको छ ।

लालीगुराँसको महत्व नबुझी स्थानीय बासिन्दाले सजिलो र कडा राप दिने भन्दै दाउराको रुपमा काट्ने गरेको पाइएको छ । अन्य रुखभन्दा काट्न सजिलो र छिटो सुक्ने भएकाले लालीगुराँसको दाउरा प्रयोग गर्ने गरिएको स्थानीयले बताएका छन् ।

पूर्वी पहाडी जिल्ला खोटाङका अधिकांश ग्रामीण भेगमा बसोवास गर्ने स्थानीयले खाना पकाउन तथा न्यानोका लागि आगो ताप्न दाउरा प्रयोग गर्दै आएका छन् । दश स्थानीय तह रहेको जिल्लामा हिउँदको समयमा वनजङ्गलबाट दाउरा सङ्कलन गरेर वर्षाद्को समयमा उपयोगमा ल्याउने प्रचलन छ ।

यतिमात्र नभइ जिल्लामा जानाजान डढेलो लगाउने चलनका कारणसमेत लालीगुराँस लगायतका बहुमूल्य बोटबिरुवा तथा जडीबुटी नास हुँदै गएको छ । हिउँद्मा झरेको पातपतिङ्गर डढाएर वर्षाद्को समयमा घाँस उमार्ने बाहानमा स्थानीय बासिन्दाले जानाजान वनजङ्गलमा ढडेलो लगाउने गरेको समाचार स्रोतको दाबी छ ।

सामुदायिक तथा निजी वनमा वर्षेनी स्थानीय बासिन्दा डढेलो लगाएपनि अहिलेसम्म सम्बिन्धत निकायले कारबाहीको दायरामा ल्याउन सकेको छैन । स्थानीय बासिन्दाले जङ्गलमा लगाएको डढेलो गाउँ पस्दा गत वर्ष हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न वडामा ठूलो क्षति गरेको थियो ।

नेपाल सरकारले जारी गरेको वन ऐन २०७६ तथा नियमावली २०७९ मा उल्लेख भएअनुसार लालीगुराँस तथा अन्य बहुमूल्य प्रजातिका रुख काटेको पाइएमा रु पाँच वर्षसम्म कैद सजाय तथा रु एक लाखसम्म जरिवाना वा दुवै हुने कानूनी व्यवस्था छ । बिना अनुमति कसैले वन पैदावार चोरीनिकासी गरेको खण्डमा नेपाल सरकार वादी भएर मुद्धा लड्ने कानूनी व्यवस्था छ ।