Monday, April 20

छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : वैशाख–८ गतेदेखि हुने प्रतियोगितामा १४ वडा सहभागी

खोटाङ, ४ वैशाख । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख–८ गतेदेखि वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । वार्षिक रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले वैशाख–८ गतेदेखि १२ गतेसम्म ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल प्रतियोगितामा प्रथम हुने वडाले नगद पुरस्कार रु एक लाख ११ हजार १११ तथा द्धितीय हुने वडाले नगद रु ६६ हजार ६६६ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रतियोगिताका सेमिफाइनलिष्ट दुईवटा वडाले रु २५ हजार ५५५ का दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगितामा बेष्ट प्लेयर एकजनालाई रु पाँच हजार ५५५ तथा बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाई स्कोरर, बेष्ट कोच र राईजिङ प्लेयरलाई रु दुई हजार २२२ का दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता समापनको अवसरमा जिल्लामा क्रियाशील एकजना पत्रकारलाई ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान गरिने आयोजकले जनाएको छ ।

सोल्मास्थित आफ्नै खेलमैदानमा सञ्चालन हुने छैटौँ संस्करणको प्रतियोगितामा जिल्लाका १४ वडाले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आयोजकले सार्वजनिक गरेको खेलतालिका अनुसार वैशाख–८ गतेको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र सोही नगरपालिकाको वडा नं. ६ नेर्पा तथा दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाबीच हुने भएको छ ।

वैशाख–९ गते चार खेल सञ्चालन हुने आयोजकले जनाएको छ । वैशाख–९ गतेको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी, तेस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा र हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा तथा चौथो खेल साकेला गाउँपालिका–२ रतन्छा र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेबीच हुने भएको छ ।

प्रतियोगितामा जिल्लाभित्रका वडाहरुले मात्र सहभागी हुन पाउने नियम बनाइएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सहभागी सबै खेलाडी एउटै वडाको हुनुपर्ने जनाइएको छ ।

सहभागी खेलाडीले वडा कार्यालयबाट सिफारिस साथमा नाम, थर र ठेगाना खुल्ने सक्कल कागजसहित दुई÷दुई प्रति पासफोटो अनिवार्य उपलब्ध गराउनुपर्ने छ । प्रतियोगितामा किर्ते खेलाडी सहभागी गराउने वडालाई रु २० हजार जरिवाना र तीन वर्षसम्म प्रतियोगितामा सहभागी हुन नपाउने जनाइएको छ ।

खेलमा सहभागी भएपस्चात बहिस्कार गर्न नपाइने र कसैले बहिस्कार गरेको खण्डमा आयोजकलाई रु २० जरिवाना बुझाउनुपर्ने जनाइएको छ । खेलमा दाबीबिरोध गर्नु परेमा खेल सकिएको एक घन्टाभित्र रु २५ हजार नगदसहित उजुरी गर्नुपर्ने छ भने उजुरी परेको वडाले दुई घण्टाभित्र विवरण पेस गरिसक्नुपर्ने जनाइएको छ ।

वि.सं. २०७० सालमा स्थापना भएको सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष वडास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथ स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लबको अन्तर्राष्ट्रिय मापदण्डको आफ्नै खेलमैदान रहेको छ ।