
खोटाङ, १८ वैशाख । किरात समुदायको महान् चाड ‘साकेला उँभाैली’ आजदेखि औपचारिकरूपमा सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली साकेला चाड मनाउने गर्छन् ।
साकेला उँभाैली चाडको अवसर पारेर जिल्लाका किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोडिएका ठाउँ तथा पर्यटकीयस्थलमा पूजाआजासहित साकेला सिली प्रदर्शन गरिरहेका छन् । किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिकाकाे तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी, पञ्चदाेबाटाे र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानहरूमा पूजाआजासँगै बृहत् साकेल सिली प्रदर्शन गर्ने चलन छ ।
उँभाैली चाडको पहिलो दिन आज जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिकै रहेको किरात ऐतिहासिकस्थल मझुवागढी तथा बुइपास्थित यलम्बर पार्क (उद्यान)मा बृहत् साकेला सिली प्रदर्शन कार्यक्रम अयोजना गरिएकाे थियो । बुइपास्थित पञ्चदाेबाटाेमा स्थापना गरिएकाे प्रथम किराती राजा यलम्बरकाे ११० फिट अग्लाे शालिकसहितकाे पार्कमा पहिलाे पटक साकेला सिली प्रदर्शन गरिएको हाे ।
यलम्बर पार्कमा आयाेजना गरिएकाे साकेला सिली प्रदर्शनीमा गैरकिरात समुदायका युवायुवतीको समेत उल्लेख्य सहभागिता रहेको थियो । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई ´हर्क साम्पाङ`काे प्रमुख आतिथ्यतामा भएकाे साकेला सिली प्रदर्शनीमा साँगीतिक कार्यक्रमसमेत गरिएकाे थियाे ।
वर्षको दुईपटक मनाइने साकेला चाडको उँभाैलीमा अन्नबाली सप्रियाेस्, राेगव्याधी नलागाेस् र प्राकृतिक विपत्ति नआओस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यसमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङले रङ्ग्याएकाे चामललगायका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको छ ।
उँभौली र उँधाैलीमा किरात राईहरूका प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।
छितको गुन्यू, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक वेशभूषामा सजिएर हरेक किरात राईहरुको घरघरमा नाच्दै तथा साकेला गीत गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।
चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोलरझ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको जनाइएको छ । साकेला उँभौली र उँधाैलीमा किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उँभौली महिना दिन तथा उँधाैलीमा १५ दिनसम्म मान्ने गरेका छन् ।
उँभौली र उँधाैलीको अवसरमा किरात समुदायले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले समेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिका रूपमा विकास भएको किरात राई यायोक्खा खोटाङका जिल्ला अध्यक्ष युगशन किरातले बताउनुभएकाे छ । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । याे चाडलाई किरात समुदायले विशेष चाडकाे रुपमा मनाउने गरिन्छ”, उहाँले भन्नुभयाे, “साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ । पछिल्लो समय साकेला चाड सबैकाे साझा चाड बन्दै भएकाे छ ।”
साकेला उँभाैली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । अन्नबाली लगाउने समय अर्थात् वैशाखे पूर्णीदेखि उँभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ ।
साकेला चाडकाे अवसर पारेर पराइघर गएका छाेरीचेलीहरु माइतीघर आउने र सुखदुःखका कुरा साटासाट गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेकाे दिक्तेल रुपकाेट मझुवागढी नगरपालिका-११ खार्मीका दिलकुमार राईले जानकारी दिनुभएको छ । याे चाडमा राेजगारी तथा अध्ययनकाे सिलसिलामा शहरबजारमा बसाेवास गर्दै आएका आफन्तहरुसमेत पुर्ख्याैली घर फर्किएर साकेला मनाउने गर्छन् ।
