Wednesday, July 29

अस्पतालचोक हुँदै साकेला गाउँपालिका जोड्ने सडकको काम अघि बढाउने सहमति

खोटाङ, ५ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अस्पतालचोक–लफ्याङ हुँदै साकेला गाउँपालिका जोड्ने सडक पिच (कालोपत्र)को काम तत्काल अघि बढाउने द्धिपक्षीय सहमति भएको छ । पोलिष्टर–महापोखरी जेभीले पिचको काम नगरेको भन्दै लफ्याङका स्थानीयवासी मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेलिगेशन गएपछि ठेकेदार कम्पनीका प्रतिनिधि र स्थानीयबीच पिचको काम तत्काल अघि बढाउने सहमति भएको हो ।

नगरपालिकामा भएको छलफलका क्रममा सडक पिचको ठेक्का पारेको जेभीकातर्फबाट कृष्ण घिमिरले यही जेठ–८ गतेभित्र निर्माणस्थलमा आवश्यक पर्ने मेशिनरी औजार, पिचका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी, बालुवा, सिमेन्ट, जनशक्ति जुटाएर काम सुरु प्रतिवद्धता जनाउनुभएको छ । नगरप्रमुख तीर्थराज भट्टराईको कार्यकक्षमा भएको भेलाले जेठ–१५ गतेभित्र सडकको अनुगमन गर्दा सडक निर्माण कार्य तोकिएको समयमा द्रुत गतिको देखिने कार्य प्रगति निर्माण व्यवसायीले देखाउनुपर्ने पनि सहमति भएको छ ।

स्थानीय पूर्वाधार कार्यालय इटहरी र ठेकेदार कम्पनीबीच गत चैतमा यो सडकखण्डको एक हजार १५६ मिटर सडक पिच गर्नेगरी रु तीन करोड बजेटमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीसँग सम्झौता गरेको डेढ महिना बितिसक्दासमेत सुरु नभएको यो सडक पिचको काम यहि असार मसान्तमा सक्नुपर्नेछ ।

नगरपालिकामा भएको छलफलमा ठेकेदार कम्पनीका प्रतिनिधि घिमिरेले भने हिजोबाट साइडमा काम सुरु भएको दाबी गर्नुभएको छ । जेन्जी आन्दोलनपछि दुईपटक रिटेण्डर भएको, एक पटक सारेको र तेस्रो पटक ठेक्का सम्झौता भएको हो ।

लफ्याङका स्थानीयवासी एवम् पूर्ववडाध्यक्ष निर्मल राईले असार मसान्तमा काम सकिने कुनै छाँटकाँट नदेखिएकाले डेलिगेशनमा आउनुपरेको बताउनुभएको छ । सडकको काम गराउनका लागि दबाब दिन स्थानीयकातर्फबाट काजीमान राईको संयोजकत्वमा सङ्घर्ष समितिसमेत गठन गरिएको पूर्ववडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।

नगरपालिकाको कार्यालयमा भएको छलफलका क्रममा तोकिएको समयमा काम सम्पन्न नगरेको खण्डमा ठेकेदारलाई कालो मोसो र जुत्ताको माला लगाएर बजार परिक्रमा गर्ने लफ्याङवासीले चेतावनी दिएका छन् । नगरप्रमुख भट्टराईले भने, कालो मोसो र जुत्ताको माला लगाएर बजार परिक्रमा गराउने विषय कानून विपरित हुने जानकारी दिनुहुँदै समयमा काम सकिने वातावरण सिर्जना गर्न लफ्याङवासीलाई आग्रह गर्नुभएको छ ।