Thursday, June 4

दिक्तेल बहुमुखी क्याम्पस खोटाङको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई

खोटाङ, १० जेठ । दिक्तेल बहुमुखी क्याम्पस खोटाङको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई चयन हुनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्यसमेत रहनुभएकी राईलाई क्याम्पसको आठौँ साधरणसभाले पुनः तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

नयाँ सञ्चालक समितिको उपाध्यक्ष कुमारप्रसाद आचार्य, सदस्यहरुमा रामप्रसाद दङ्गाल, प्रकाशकुमार श्रेष्ठ, दिनेशकुमार घिमिरे, उमेश राई, शिवनारायण श्रेष्ठ, राजकुमार उदास र टीका खत्री चयन हुनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले औपचारिक उद्घाटन गर्नुभएको साधारणसभाले सर्वसहमतिमा क्याम्पस सञ्चालक समितिको नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभापछि नवनिर्वाचित क्याम्पस सञ्चालक समितिको आज (आइतबार) नै बसेको पहिलो बैठकले चारजना मनोनित सदस्यसमेत थप गरेको छ । सञ्चालक समितिले मनोनित गरेको सदस्यहरुमा रामबहादुर बजगाईँ, डिल्लीकुमारी आचार्य, दीपक ठटाल र सीताराम राई रहनुभएको छ ।

जिल्लाको सबैभन्दा पूरानो दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख कृष्णबहादुर राई स्वतः नियुक्त हुनुभएको छ । क्याम्पस सञ्चालक समितिको पदेन सदस्यहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष, प्राध्यापक सङ्घको अध्यक्ष र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि रहने कानूनी व्यवस्था छ ।

साधारणसभाले क्याम्पस प्रमुख कृष्णबहादुरले पेश गर्नुभएको प्रगति प्रतिवेदन र सहायक क्याम्पस प्रमुख हर्कवीर राईले पेश गर्नुभएको आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ । साधारणसभा उद्घाटनसत्रमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

जिल्लाको सबैभन्दा जेठो यो दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । गत वि.सं. २०८१ पुस–१९ गते बसेको विश्वविद्यालय अनुदान आयोगको बैठकले यो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गरेकको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित यो दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन गरिरहेको छ । क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि यो क्याम्पसमा खोटाङसँगै छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थीसमेत आएर अध्ययन गर्दै आएका छन् ।

दिक्तेल बहुमुखी क्याम्पसमा मानविकी तथा समाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायको अध्ययन÷अध्यापन हुँदै आएको छ । छात्रा आवासगृहसमेत रहेको यो दिक्तेल बहुमुखी क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानी लगायतका भौतिक सुविधा उपलब्ध रहेको छ ।

कक्षा–११ देखि स्नातकोत्तरसम्म अध्ययन÷अध्यापन हुने दिक्तेल बहुमुखी क्याम्पसमा ९२१ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जानकारी दिएको छ । छिमेकी जिल्लाका विद्यार्थीका लागि समेत पायक पर्ने स्थान दिक्तेल बजारमा सञ्चालित यो क्याम्पसको चौतर्फी विकासमा सबैको चासो बढेको छ ।