
खोटाङ, ११ जेठ । नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षाबहादुर राईका मगर निर्वाचित हुनुभएको छ । काठमाडौँमा सोमबार सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३ औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा अध्यक्षका चारजना उम्मेदवारलाई पराजित गर्दै रक्षाबहादुर १९६ मतसहित केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न गरिएको निर्वाचनमा नवनिर्वाचित अध्यक्ष रक्षाबहादुरको निकटतम् प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना गरिएको मगर सङ्घको १३ औँ राष्ट्रिय महाधिवेशनमार्फत समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध चयन हुनुभएको छ । समितिको उपाध्यक्ष महिलामा सीता राना मगर, खुलातर्फ कविराज मगर र तेजबहादुर आले मगर, उपाध्यक्ष सांस्कृतिकतर्फ दीपसागर मगर, उपाध्यक्ष मगर ढूटमा हर्क आले मगर, मगर खाममा जीवनप्रवेश रोकाय मगर र मगर काइकेमा भीम मगर निर्वाचित हुनुभएको छ ।
महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुन मगर र हिरूसरा राना मगर निर्वाचित हुनुभएको छ । सचिवमा बिष्णुबहादुर राना मगर, साचिबः–झबीन्द्र थापा मगर र तारामाया थापा मगर निर्वाचित हुनुभएको जनाइएको छ ।
मगर सङ्घको कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्ती मगरले जानकारी दिनुभएको छ । महाधिवेशनबाट लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित हुनुभएको छ ।
नेपाल मगर सङ्घ केन्द्रीय कार्यसमितिको सदस्यहरुमा जुनु पुन मगर, गिरमान गाहा मगर, रमेश पुन मगर, इन्द्र सारू मगर, रमेश थापा मगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर निर्वाचित हुनुभएको छ । ‘ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौँ, समृद्ध मगर समाज निर्माणको पक्षमा १३ औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पारौँ” भन्ने मूल नारासाथ राष्ट्रिय महाधिवेशन आयोजना गरिएको हो ।
चार दिनसम्म सञ्चालन भएको नेपाल मगर सङ्घको राष्ट्रिय महाधिवेशनमा देशका ६८ जिल्ला, सात प्रदेश समिति, नौँ भातृ संस्था तथा १३ वटा प्रवास शाखाबाट करिब प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशन उद्घाटन नेपाल मगर सङ्घका सल्लाहकार एवम् नेपाल सरकारका पूर्व अर्थमन्त्री वर्षमान पुन मगरले गर्नुभएको थियो ।
राष्ट्रिय महाधिवेशनमा अधिकांश पदाधिकारी तथा कार्यसमिति सदस्यमा निर्वाचन भएको थियो । तीन दिनका लागि तोकिएको राष्ट्रिय महाधिवेशनमा सर्वसहमतिले नयाँ नेतृत्व चयन हुन नसकेपछि चार दिनसम्म सञ्चालन भएको हो ।
राष्ट्रिय महाधिवेशनमा मगर समुदायको मौलिक भेषभूषा, संस्कृति तथा पहिचान झल्काउने झाँकीसहितको सांस्कृतिक ¥याली प्रदर्शन गरिएको थियो । यही जेठ–८ गतेबाट सुरु भएको नेपाल मगर सङ्घको १३ औँ राष्ट्रिय महाधिवेशनले मगर सङ्घको भावी रणनीति तथा कार्यक्रमसमेत पारित गरेको छ ।
