Thursday, June 4

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ : एघार विद्यामा उत्कृष्टलाई अवार्ड

खोटाङ, २० जेठ । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका विभिन्न ११ विद्यामा उत्कृष्टलाई २०८३ को अवार्ड वितरण गरेको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको हो ।

महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक चोइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्कृष्ट स्क्रिप्ट लखन अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’का लेखक बिबेक गुरुङ, उत्कृष्ट निर्देशक अवार्ड लिम्बू चलचित्र ‘रीत’का निर्देशक दिनेश लिङ्देन, उत्कृष्ट अभिनेता अवार्ड मगर चलचित्र ‘दिलसरा’का अभिनेता कल्याण राना मगर तथा उत्कृष्ट अभिनेत्री अवार्ड नेवारी चलचित्र ‘स्वयनगु’की अभिनेतृ भिन्तुना श्रेष्ठले प्राप्त गर्नुभएको छ । उत्कृष्ट छायाङ्कन अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’ छायाँकार सूर्य लामा, जुरी अवार्ड राजवङ्शी वृत्तचित्र ‘बिराटनगरके प्राचिन राजवङ्शी’, इन्करेजमेन्ट अवार्ड तामाङ लघु चलचित्र ‘दुखला ग्यम’, उत्कृष्ट लघु चलचित्र मगर लघु चलचित्र ‘लाहुरेनी’ तथा उत्कृष्ट वृत्तचित्र अवार्ड–२०८३ मगर वृत्तचित्र ‘आग्रे’लाई प्रदान गरिएको चलचित्र महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिनुभएको छ ।

उत्कृष्ट कलाकार तथा चलचित्रकर्मी, चलचित्र, लघु चलचित्र र वृत्तचित्रलाई कार्यक्रमका प्रमुख अतिथि आदिवासि जनजाति उत्थान राष्टृय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले खदा ओढाएर ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको छ । काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा यही जेठ–१७ गतेदेखि १९ गते साँझसम्म आयोजना गरिएको महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, साँस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न जातजातिको खानाका स्टलहरु राखिएको थियो ।

महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवङ्शी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेड वृत्तचित्रहरु प्रदर्शन गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको छैटौँ चलचित्र महोत्सवले आदिवासी जनजाति चलचित्रकर्मी, अनुसन्धानकर्ता र सांस्कृतिक अभियान्ताबीच नयाँ सम्वाद, सहकार्य तथा वैकल्पिक सिनेम्याटिक बिमर्श निर्माण गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा आदिवासी जनजातिहरुको भाषा, इतिहास, भूमि, पूर्वजहरुको स्मृति र सिङ्गो आदिवासी जनजाति समुदायको जीवित आत्मा बोलेको निर्देशक केरुङले जानकारी दिनुभएको छ । “आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनका रुपमा मात्र नभइ सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकतासँग जोडेर हेरिनुपर्छ । महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्रको एक सशक्त केन्द्रका रुपमा स्थापित गरेको छ”, उहाँले भन्नुभयो, “अहिले विश्वमानव सभ्यता गम्भीर ज्ञान सङ्कटको मोडमा उभिएको छ । महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम नभएर सांस्कृतिक न्याय, आत्म–प्रतिनिधित्व, भाषिक पुनर्जागरण, ज्ञान–उपनिवेशवादविरुद्धको प्रतिरोध तथा एपिस्टेमिक स्वतन्त्रताको अन्तर्राष्ट्रिय सिनेम्याटिक आन्दोलन पनि हो ।”

नेपालमा आदिवासी जनजातिसँग सम्बन्धित करिब डेढ हजारभन्दा बढी चलचित्र, लघु चलचित्र तथा वृत्तचित्रहरु निर्माण गरेर प्रदर्शन भइसकेको जनाइएको छ । नेपालका आदिवासी जनजाति चलचित्रकर्मीहरुले मातृभाषा, भूमि सम्बन्ध, पूर्वजगत, लोक ज्ञान, सांस्कृतिक प्रासङ्गिकता, अनुष्ठानिक संरचना तथा सामुदायिक आवाजलाई केन्द्रमा राख्दै एक पृथक आदिवासी सिनेम्याटिक सौन्दर्य दर्शनको विकास गरेको आयोजक नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घको दाबी छ ।

महोत्सव समापन कार्यक्रमको अवसरमा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उपाध्यक्ष अमृत सुनुवार र चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समिर बलामीले नेपालमा आदिवासी जनजाति समुदायका चलचित्रको वर्तमान अवस्था तथा महत्वका बारेमा आ–आफ्नो धारण राख्नुभएको थियो । चलचित्र निर्देशक, पत्रकार एवम् नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशक डब्बु क्षेत्रीले नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अवस्थाबारे प्रकाश पार्नुभएको थियो ।