
खोटाङ, २३ असार । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगितामा झापाका प्रकाशचन्द्र नेपाल प्रथम हुनुभएको छ । प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा आयोजित प्रतियोगितामा आठ जिल्लाका ६१ जना सहभागीलाई पराजित गर्दै नेपाल प्रथम हुनुभएको हो ।
दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा मङ्गलबार आयोजना गरिएको प्रतियोगितामा प्रथम उपाधि प्राप्त गर्नुभएका नेपाललाई रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदानसहित पुरस्कृत गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । उपाधि विजेता नेपाललाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र बुद्धिचाल सङ्घ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्रकुमार राईले पुरस्कार वितरण गर्नुभएको हो ।
कोशी प्रदेश बुद्धिचाल सङ्घ सह–आयोजक तथा जिल्ला बुद्धिचाल सङ्घ खोटाङको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा धनकुटाका सुमन श्रेष्ठ द्धितीय र सुनसरीका ललितबहादुर राई तृतीय हुनुभएको आयोजकले जनाएको छ । उनीहरुलाई क्रमशः रु १५ हजार, रु दश हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
दशौँ स्थानसम्म हासिल गर्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा मोरङका उमेश राई चौथो, झापाका ज्वाला इम्बुङ पाँचौँ र इलामका सुरेन्द्रकुमार राई छैटौँ हुनुभएको छ् । उनीहरुलाई क्रमश ः नगद रु आठ हजार र रु सात हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै, खोटाङका धिरेन राई सातौँ तथा खिलाराज राई आठौँ, सुनसरीका किशोरदेव राई नवौँ र हलेसीका मेजर राई दशौँ हुनुभएको छ । उनीहरुलाई जनही नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
सात समूहमा विभाजन गरेर फरक–फरक विद्यामा पुरस्कृत गर्नेगरी आयोजना गरिएको प्रतियोगिता अन्तरगत महिलातर्फ कुसुम घिसिङ प्रथम, लिरा सेनेहाङ द्धितीय र तपस्या कार्की तृतीय हुनुभएको छ । उनीहरुलाई क्रमशः नगद रु सात हजार, रु पाँच हजार र रु चार हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले जानकारी दिनुभएको छ ।
विद्यार्थीतर्फ राकेश आचार्य प्रथम, कमल राजभण्डारी द्धितीय र सुशासन राई तृतीय हुनुभएको जनाइएको छ । उनीहरुलाई नगद रु पाँच हजार, रु चार हजार र रु तीन हजार नगदसहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिएको छ ।
खोटाङ जिल्लातर्फ मनकुमार राई प्रथम हुँदै रु चार हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकातर्फ आयुष राई प्रथम हुँदै रु तीन हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । उमेर समूहतर्फ १६ वर्ष मुनिका अभिशेक आचार्यलाई रु चार हजार तथा १२ वर्ष मुनिका क्रिशल प्रधानलाई नगद रु तीन हजार प्रदान गरिएको जनाइएको छ ।
स्वीस लिग फरम्याट (स्वीजरल्याण्डमा प्रचलित नियम) अन्तरगत आयोजना गरिएको प्रतियोगितामा प्रदेशभरका खेलाडीमध्ये हिल च्याम्पियन (उच्च पहाडी क्षेत्रका उत्कृष्ट) हुने निङ्मा शेर्पालाई नगद रु चार हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगितामा आठ जिल्लाका ६२ जना खेलाडीको सहभागिता रहेको थियो ।
