Tuesday, July 28

ठेकेदारको लापरबाहीले पक्की पुल नबनेपछि अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान

खोटाङ, ३ साउन । मध्यपहाडी लोकमार्गअन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको लप्से (पङ्खु)खोलामा अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गर्नका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, रामेछापले भ्याट र कन्टिन्जेन्सी बाहेक रु एक करोड ६३ लाख ६४ हजार ९३४ रकमको ठेक्का खुलाएको हो ।

लप्सेखोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको अवस्थामा अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने तयारी गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, रामेछापका सूचना अधिकारी इन्जिनियर भरत श्रेष्ठले जानकारी दिनुभएको छ । लप्सेखोलामा वि.सं. २०७३ सालमा सक्नेगरि १५ मिटर लम्बाई भएको पक्की पुल निर्माण सुरु गरिएको थियो तर, ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण वि.सं. २०७९ सालमा ठेक्का तोडिएको थियो ।

ठेक्का लागेको सात वर्ष बित्दासमेत ठेकेदारले मोटरेबल पक्की पुल नबनाएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले ठेक्का तोड्नका लागि वि.सं. २०७९ मङ्सिर–१८ गते सडक विभाग समक्ष सिफारिस गरेको थियो । ठेकेदार कम्पनीसँग मोटरेबल पुलको ठेक्का तोडिएको तीन वर्ष बिते पनि सरकारले हालसम्म नयाँ ठेक्का खुलाएको छैन ।

ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले वि.सं. २०७३ असोज–७ गतेसम्ममा मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी वि.सं. २०७२ असोज–७ गते कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । निर्माणको जिम्मा लिने ठेकेदारले खोलाको दुई किनारामा पिलर ठड्याउने काम बाहेक केही प्रगति गरेनन् ।

लप्सेखोला मोटरेबल पक्की पुल निर्माणका लागि तेस्रोपटक थप भएको म्याद वि.सं. २०७७ असोज–३० गते नाघेको थियो । ठेकेदारले पुल निर्माणका लागि ठड्याएका पिलरसमेत झाडीले ढाकिसकेको छ भने रडमा खिया परेको छ ।

कालोपत्र गरिएका सडकखण्डमा पर्ने लप्सेखोलामा पुल नहुँदा वर्षाद्को समयमा पैदलयात्री, मालवाहक तथा यात्रुवाहक गाडी, एम्बुलेन्स र मोटरसाइकल घण्टौँ रोकिने गरेको स्थानीयवासीले बताएका छन् । वर्षाद्को समयमा बाढी र पहिरो खसेकोबेला लप्सेखोलामा बेला–बेला लामो समयसम्म सडक अवरुद्ध हुने गरेको छ ।

गत जेठ–२७ गते राति लप्सेखोलामा सडकभन्दा माथिबाट लेदोसहितको बाढी झरेपछि हप्ता दिनसम्म यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको थियो । अहिले बाढीले अवरुद्ध भएको सडकमा ह्युमपाइप राखेर सवारी साधन वारपार गर्ने व्यवस्था मिलाइएको छ ।

यसैबीच, मध्यपहाडी लोकमार्गअन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डकै (दश किलोमिटर) सेखुवा–चखेवाभञ्ज्याङ सडक कालोपत्रका लागि नयाँ ठेक्का आव्हान भएको छ । ठेकेदार कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठमाडौँले काम नगरेपछि पूरानो ठेक्का तोडेर नयाँ आव्हान गरिएको हो ।

वि.सं. २०७५ फागुन–३० गतेसम्ममा सम्पन्न गर्नेगरी वि.सं. २०७२ चैत–२ गते ठेकेदार कम्पनीसँग ठेक्क सम्झौता भएको थियो । ठेकेदार कम्पनीले पटकपटक थपिएको म्याद सकिँदा पनि कालोपत्रको काम सम्पन्न नगरेपछि वि.सं. २०८० जेठ–१४ गते ठेक्का तोडिएको थियो ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ बाहेक सबै क्षेत्र कालापत्र भइसकेको छ । ठेकेदारको लापरबाहीले कालोपत्र नभएको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा हिउँदको समयमा धुलो र वर्षाद्को समयमा हिलोका कारण पटकपटक यातायात अवरुद्ध हुँदै आएको छ ।