Friday, September 11

विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्वीर बन्यो कोशी प्रदेश उत्कृष्ट

–रामधन राई
खोटाङ, २४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पङ्की राई ‘रोशन’ वैदेशिक रोजगारीमा विदेश गएर नौँ वर्षअघि नेपाल फर्कनुभएको थियो । विदेशमा रहँदा त्यहाँका कम्पनी मालिकको पेलान तथा आफ्नो देश नेपालप्रतिको मायाले दश महिना नबित्दै फर्कनुभएका पङ्कीमा नेपालका पर्यटकीयस्थलहरु घुम्ने र फोटो–भिडियोमार्फत अरुलाई घुमाउने सोख जागृत भयो ।

विदेशबाट फर्किलगत्तै आफ्नो सोखअनुसार पर्यटकीयस्थलहरुको उत्कृष्ट फोटो तथा भिडियो कैद गर्नका लागि क्यामेरा र ट्राईपोटसहित बन्दोवस्तीको सामग्री बोकेर पङ्की नेपालका कुना–कन्दराका नियमित यात्री बन्नुभयो । हरेक जिल्ला यात्राको क्रममा बटुलेको सुख, दुःख तथा पर्यटकीय सम्भावनाका क्षेत्रहरुको फोटो तथा भिडियो पङ्कीले आफ्नो (पङ्की राई भ्लग तथा युट्युब)मा राख्नुभएको छ ।

पछिल्लो समय नेपालका धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रवद्र्धनमा दिलोज्यान दिएर लाग्नुभएका पङ्कीले यही साउन–२२ गते विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगितामा (ट्रेल विद्या)को प्रथम उपाधि जित्नुभएको छ । कोशी प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा ३७ जना फोटोग्राफरलाई उछिन्दै पङ्कीले प्रथम उपाधि जित्नुभएको हो ।

बिना तालिम गुगलका सामग्री अध्ययन गरेर फोटो तथा भिडियोग्राफर बन्नुभएका पङ्कीले कैद गर्नुभएको तस्वीरलाई प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगितामा ‘घाँसे मैदान र गोठालाको जीवन ः मुन्दुम पदमार्गको जीवन्त कथा’ शीर्षक दिइएको थियो । कोशी प्रदेश उत्कृष्ट त्यो फोटो नेपालको १०० पर्यटकीय गन्तव्यमा सूचिकृत मुन्दुम ट्रेल (पदमार्ग)को सालपा–सिलिचुङ क्षेत्रमा खिचिएको हो ।

विदेशबाट भाइले पठाइदिएको मोबोइलले खिचेको फोटोले प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगिताको प्रथम उपाधि जिताएको फोटोग्राफर पङ्कीले जानकारी दिनुभएको छ । “मुन्दुम ट्रेल यात्राका क्रममा निकासभन्दा मुनि एउटा भाइले वाबु (चिन्डो) आकारमा संरचित पोखरी नजिक भेडाको बथान चराउँदै थियो । मसँग भएको क्यामेराको ब्याट्री सकिएको थियो । संयोगबस मैले आई फोन थटिन प्रो म्याक्सले बोकेको थिएँ ! त्यो मोबाइल फोन मेरो तुम्मा (ठूलीआमा)को छोरा आदित राई भाइले सिङ्गापुरबाट पठाइदिएको हो”, उहाँले भन्नुभयो, “अनि मैले फोटो खिच्छु है भनेर अनुमति लिएरै फोटो खिचेको थिएँ । त्यतिबेला खिचेको फोटो प्रदेश उत्कृष्ट हुँदा खुशी लागेको छ । मोबाइल पठाइदिएकोमा सिङ्गापुर पुलिसमा कार्यरत भाइ आदितलाई धेरै–धेरै धन्यवाद ।”

विदेशबाट फर्किएपछि नौँ वर्षदेखि फोटो तथा भिडियोग्राफीमा सक्रिय पङ्कीले प्रदेश उत्कृष्ट फोटोसँगै १०–१५ वटा फोटोहरु ईन्स्टाग्राममार्फत पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशमा पठाउनुनुभएको जनाइएको । फोटो तथा भिडियोग्राफर पङ्कीले प्रदेश सरकारबाट प्राप्त उत्कृष्ट फोटोग्राफर उपाधिसँगै नगद रु ७० हजारसमेत प्राप्त गर्नुभएको छ ।

प्रदेश सरकारले प्रदान गरेको यो उपाधिसँगै फोटो तथा भिडियोग्राफीका क्षेत्रमा थप सक्रियताका साथ लाग्नुपर्ने महसुस भएको पङ्की बताउनुभएको छ । प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगिता जितेपछि उत्साहित बन्नुभएका पङ्की फोटोग्राफर व्यवसायिक नभइ सोख भएको जानकारी दिनुभएको छ ।

आफूमा इच्छा, धैर्यता र लगनशीलता भए नसोचेको सफलता पनि मिल्दोरहेछ भन्ने सन्देश यसपटक आफूले पाएको फोटोग्राफर पङ्कीले बताउनुभएको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि हिमाल, पहाड तथा तराईका विभिन्न स्थानमा डुलेर फोटो÷भिडियो सङ्कलन गरिरहेको पङ्कीले जानकारी दिनुभएको छ ।

देश तथा विदेशमा रहेका पर्यटकलाई नदेखिएको तथा नपुगेको नेपालका पर्यटकीयस्थल देखाउने र प्रर्यटन प्रवद्र्धन गराउने पङ्कीको मुख्य ध्येय रहेको छ । पछिल्लो समय जिल्लामा पङ्की जस्तै अन्य युवाले पनि फोटो तथा भिडियोग्राफीमार्फत धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिरहेका छन् ।

कोशी प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालयले हरेक वर्ष विभिन्न विद्यामा फोटोग्राफी प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रदेशभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्न मन्त्रालयले हरेक वर्ष फोटोग्राफी प्रतियोगिता आयोजना गर्दै आएको प्रवक्ता अखिलेशकुमार गुप्ताले जानकारी दिनुभएको छ ।