Friday, September 11

खार्ताम्छा र बाक्सिलाका ५३ कृषकलाई कृषि सामग्री वितरण

खोटाङ, २७ साउन । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा र वडा नं. ४ बाक्सिलाका ५३ जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ । गाउँपालिकासँगको सहकार्यमा बालसेवा समाज नेपाल, नेर्पा खोटाङले जी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषकलाई सामग्री वितरण गरेको हो ।

कृषकलाई ५०० लिटर क्षमताको हिलटेक, ५० मिटर प्लास्टिक पाइप, त्रिपाल, टिनको बाकस, रजिस्टर, १० केजीसम्म तौल गर्न मिल्ने डिजिटल मेसिन र डिजिटल क्यालकुलेटर वितरण गरिएको समाजकी अध्यक्ष चन्द्रकला भुजेलले जानकारी दिनुभएको छ । व्यवसायमा संलग्न, सीमान्तकृत, अपाङ्गता भएका तथा जोखिममा रहेका घरधुरीको सर्वेक्षण गरी छनोट भएका कृषक समूहलाई सामग्री प्रदान गरिएको हो ।

सामग्री वितरणअघि उनीहरूलाई नेतृत्व विकास, व्यवसाय योजना तथा वित्तीय साक्षरतासम्बन्धी तालिम दिइएको थियो । तालिम सम्पन्न भएको दुई महिनापछि सामग्री वितरण गरिएको अध्यक्ष भुजेलले बताउनुभएको छ ।

जी फाउण्डेसनले स्थानीय कृषकलाई आफ्नै व्यवसायबाट आयआर्जन गरी आत्मनिर्भर तथा व्यावसायिक बनाउने उद्देश्यले सामग्री कृषि सामग्री वितरण गर्दै आएको छ । बालसेवा समाज नेपालसँको सहकार्यमा जी फाण्डेसनले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभएको छ ।

जी फाण्डेसनले बालसेवा समाजसँगको सहकार्यमा केपिलासगढी गाउँपालिकासँगै हलेसी तुवाचुङ नगरपालिकामा समेत कार्यक्रम सञ्चालन गरिरहेको छ । दश स्थानीय तह रहेको जिल्लामा जी फाण्डेसन, ईको हिमाल, सामी परियोजना लगायतका विभिन्न सङ्घ संस्थाले स्थानीयको क्षमता विकास, आयआर्जनमा सहयोग, सामग्री हस्तान्तरणजस्ता गतिविधि सञ्चालन गर्दै आएको छ ।