
खोटाङ, ३ भदौ । किरात पहिरनमा सजिएकी कन्या । हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्धारमा उभिएकी । जब कोही पाहुना उनको अगाडि पुग्छन् । किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा हातमा थमाएर स्वागत गर्छिन् ।
जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका पुमा राई समुदायले सञ्चालन गरेको ‘पुमा सामुदायिक होमस्टे (घरवास)’मा पुगेका अतिथिलाई स्वागत गर्ने प्रचलनको वर्णन हो यो । दिप्लुङस्थित निगालावासका ११ घर पुमा राईहरु मिलेर वि.सं. २०८१ माघ–१५ गते ‘पुमा सामुदायिक होमस्टे (घरवास)’ सञ्चालन गरेका हुन् ।
गाउँपालिकाको कार्यालयमा आधिकारिक रुपमा दर्ता गरेर सञ्चालन गरिएको पुमा सामुदायिक होमस्टे छोटो समयमै पर्यटक पाहुनाका लागि आकर्षणको केन्द्र बनेको छ । गाउँपालिकाको केन्द्र चिसापानी बजार पुगेका जो कोही एक रात पुमा सामुदायिक होमस्टे पुगेर मनोरञ्जन गर्ने गर्छन् ।
होमस्टेमा पाइने स्थानीय परिकार तथा पुमा राई समुदायको सांस्कृतिक झाँकी पर्यटकको मुख्य आकर्षण बनेको छ । होमस्टेमा बस्ने पाहुनाका लागि खाजामा कोदो र फापरको रोटी, उसिनेको मकै तथा भुटेको मकै–भटमास दिने गरेका छन् ।
होमस्टे आउने पाहुनाका लागि खानामा कोदोको ढिँडो, मकैको भात र जौको भात, सिस्नो, स्थानीय जातका कुखुरा, बङ्गुर र राँगाको मासु उपलब्ध छ । ढिँडो र कुखुराको मासु खाएमा प्रतिव्यक्ति रु ३०० तथा बङ्गुर र राँगाको मासु खाएमा प्रतिव्यक्ति रु २५० लिने गरिएको सञ्चालकहरुले बताएका छन् ।
मकैको भात र सिस्नो प्रतिव्यक्ति रु २०० तथा खाजामा प्रतिव्यक्ति रु १०० का दरले लिने गरिएको जनाइएको छ । पेय पदार्थमा कोदो, केरा र पुस्टाकारीको रक्सी तथा कोदोको छनुवा जाँड र तोङ्बा उपलब्ध रहेको जनाइएको छ ।
सामुदायिक होमस्टेका लागि होमस्टे सञ्चालक समितिका अध्यक्ष मञ्जुकुमारी राईले दुई रोपनी जग्गासमेत उपलब्ध गराउनुभएको सचिव दीपक राईले जानकारी दिनुभएको छ । “अध्यक्षज्यूले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा पाहुना सत्कार घर निर्माण गर्ने योजना बनाएका छौँ । गाउँपालिकाको सहयोगमा सौचालय र वाथरुम निर्माण गरिसकिएको छ”, उहाँले भन्नुभयो, “भवन निर्माणका लागि गाउँपालिकाले रु आठ ९० हजार उपलब्ध गराएको छ । पहिलो तलामा सङ्ग्रहालयसहितको पाहुना सत्कार कक्ष र माथिल्लो तलामा वास बस्ने ठाउँ बनाउने योजना छ ।”
होमस्टे सञ्चालनका लागि स्थानीयलाई गाउँपालिकाले तीन वर्षअघि आवश्यक तालिमसमेत उपलब्ध गराएको थियो । होमस्टेको मापदण्ड, पाहुनालाई आकर्षित गर्न गरिने व्यवहार, सरसफाइ तथा सुरक्षाका विषयमा सञ्चालकहरुलाई जानकारी गराइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभएको छ ।
होमस्टे सञ्चालकहरुलाई गाउँपालिकाले उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडुवामा थारु समुदायले सञ्चालन गरेको बहेडुवा सामुदायिक होमस्टे र धनकुटाको साँगुरीगढी गाउँपालिकामा मगर समुदायले सञ्चालन गरेको नाम्जे–थुम्की सामुदायिक होमस्टेको अवलोकन भ्रमण गराएको थियो । निगालावासका पुमा राईहरुले सञ्चालन गरेको होमस्टे पछिल्लो समय धेरैका लागि अध्ययन गर्ने थलोसमेत बनेको छ ।
स्थानीयलाई आम्दानीको स्रोतसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्न निकागालावासमा पुमा सामुदायिक होमस्टे सञ्चालनमा सहयोग गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकामा धेरै पर्यटकीयस्थलहरु रहेका छन् । त्यहाँ आउने पर्यटकहरुलाई खाने तथा बस्ने व्यवस्था मिलाउनका लागि पनि निगालावासमा होमस्टे सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “गाउँपालिकाको सहयोगमा सञ्चालित पुमा सामुदायिक होमस्टेले छोटो समयमै राम्रो उपलब्धि गरेको छ । यसलाई समय सान्दर्भिक बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्छ ।”
पुमा सामुदायिक होमस्टेमा विशेषगरी पर्यटकीयस्थलहरु जन्तेढुङ्गा, होङ्मा पोखरी र भञ्ज्याङखर्क घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि आउने गरेको सञ्चालकहरुले बताएका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी र वडा नं. ६ दिप्लुङको सीमानामा अवस्थित पर्यटकीयस्थल जन्तेढुङ्गामा परापूर्वकालमा जन्ती लोप (अलप) भएको किम्बदन्ती छ ।
पर्यटकीयस्थलहरु र पुमा सामुदायिक होमस्टेसम्मको सडकमार्ग सहज भएकाले पनि होमस्टेमा पाहुनाहरुको आकर्षण बढेको सञ्चालकहरुले बताएका छन् । पुमा सामुदायिक होमस्टेमा आउने अधिकांश पाहुना आफ्नै गाडी तथा मोटरसाइकल लिएर बास बस्नका लागि आउने गरेका छन् ।
पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, छोङ्खा साकेला थान, भानुमति आदि रमणीय स्थानहरु रहेक छन् । भिन्नभिन्न जातिले आ–आफ्नै धर्म तथा संस्कृत अनुसार फरक–फरक किसिमका चाडपर्वहरू मनाउने भएता पनि साकेला, दशै÷तिहार, तिज आदि चाडपर्वहरुको विशेष महत्व हुने गर्दछ ।
खोटाङ जिल्लाको दक्षिणी भेगमा अवस्थित यो गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिणमा पर्दछ । पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ)को बीचमा अवस्थित छ ।
