Tuesday, September 22

हलेसी तुवाचुङमा भूमि प्रशासन सेवा, दिक्तेल धाउनुपर्ने बाध्यता हट्याे

खोटाङ, ६ असोज । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय तहबाटै भूमि तथा मालपोतसम्बन्धी सेवा प्रदान गर्न भूमि प्रशासन सेवा सुरु गरेको छ। जिल्लाकाे दाेस्राे ठूलाे स्थानीय तह (एघार वडा रहेकाे) याे नगरपालिकाले असोज-५ गतेदेखि भूमि तथा मालपोतसम्बन्धी सेवा सञ्चालनमा ल्याएको हो ।

सेवा सुरु भएसँगै सामान्य प्रकृतिका भूमि तथा मालपोतसम्बन्धी कामका लागि सदरमुकाम दिक्तेल पुग्नुपर्ने नागरिकको बाध्यता हटेकाे नगरपालिकाले जनाएको छ । भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुने सेवामध्ये बायोमेट्रिकबाहेक अन्य सबै सेवा स्थानीय तहबाटै प्रदान गर्ने गरी सेवा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका भूमि प्रशासन तथा नापीकार्यालयकाे सेवा सुरु गर्ने पहिलाे स्थानीय तह बनेकाे छ । नेपालको संविधानले भूमि व्यवस्थापनसम्बन्धी केही अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार र जनशक्तिको अभावमा यसअघि भूमि तथा नापीसम्बन्धी सेवा सम्बन्धित कार्यालयबाटै प्रवाह हुँदै आएको थियो।

भूमि प्रशासन अधिकृत ध्रुव कार्कीकाअनुसार भूमि शाखामार्फत राजीनामा, हककिस्सा राजीनामा, दर्ता फारिस, सगोलनामा, हकछोडपत्र, दातापत्र, हालैदेखिको बकसपत्र, त्यसपछिको बकसपत्र, जग्गासहितको अष्टलोह तथा सट्टापट्टालगायतका सेवा प्रदान गरिनेछ । त्यस्तै, अंशबन्डा, अंश भरपाई, अंशछोडपत्र, करारनामा, मानव छुट्टिएको, मानव जोडिएको, मञ्जुरीनामा, अख्तियारनामा तथा घरबहाल करलगायतका सेवा पनि स्थानीय नगरपालिकाबाटै उपलब्ध हुनेछन् ।

नापी कार्यालय अन्तरगत कित्ता नापी, नक्सा प्रिन्ट तथा बिक्री, कित्ता कार्ड, कित्ता एकीकरण, जग्गा छुट्ट्याउने तथा नक्सामा घर, बाटो वा अन्य पूर्वाधार कायम गर्नेलगायतका सेवा प्रवाह गरिने जनाइएको छ । यद्यपि, सशस्त्र द्वन्द्वका क्रममा मालपोत कार्यालयमा आगजनी हुँदा भूमि सम्बन्धी पुराना अभिलेख जलेका कारण हाललाई प्रणालीमा अभिलेख प्रविष्ट भइ स्रेस्ता कायम भएका तथा डिजिटल जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका जग्गाधनीको हकमा मात्रै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह हुने अधिकृत कार्कीले जानकारी दिनुभएको छ ।

सिस्टममा अभिलेख नदेखिएको अवस्थामा स्रेस्ता कायम गर्न भने सेवाग्राहीले दिक्तेल पुग्नुपर्ने बाध्यता कायमै रहेको भूमि प्रशासन कार्यालयले जनाएको छ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थ हलेसीमा पर्ने याे नगरपालिकामा बजार विस्तार तीव्र गतिमा भइरहेकाे अवस्थामा भूमि प्रशासन कार्यालय स्थापना भएकाले स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ ।