घर जलेर विस्थापित भएका धनबहादुरको परिवारलाई दाताको सहयोगमा नयाँ घर
खोटाङ, १ असार । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा घर जलेपछि विस्थापित भएका परिवारका लागि नयाँ घर निर्माण गरिएको छ । गत चैत–१८ गते विद्युत सर्ट हुँदा घर जलेपछि विस्थापित भएका डम्बर्खुशिवालयस्थित चण्डीथान निवासी धनबहादुर नेपालीको परिवारका लागि नयाँ घर निर्माण गरिएको हो ।
डम्बर्खुशिवालयकी स्थानीय अभियान्ता कमला खड्काको पहलमा स्वदेश तथा विदेशमा रहेका दाताबाट जुटेको सहयोगमा धनबहादुरको परिवारका लागि नयाँ घर निर्माण गरिएको वडाध्यक्ष विदुरमान राईले जानकारी दिनुभएको छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि धनबहादुरको श्रीमती, छोराबुहारी, छोरी र नातीसहित छ जनाको परिवार विस्थापित भएका थिए ।
आगलागीमा घरसँगै अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, कागजात लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि पुनः स्थापनाका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग सङ्कलन अभियान थालिएको थियो । ...









