विरसको रसिलो चिया : एकपटक खाएपछि पुनः खाउँखाउँ लाग्ने स्वाद !
खोटाङ, १२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर वि.सं. २०५४ सालदेखि दूधचिया बेच्न थाल्नुभएकी विरसले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आउनुभएको छ ।
समुन्द्री सतहदेखि एक हजार ८२३ मिटर उचाईमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरुको भीड हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका अबेरसम्म लाग्ने गरेको छ । विरसको आफ्नै नामबाट (विरस होटल एण्ड लज’ नामाकरण गरेर स्थापना गर्नुभएको होटलमा चिसासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेहरुको समेत उत्तिकै मात्रामा भीड लाग्ने गरेको छ ।
प्रति कप (गिलास) रु २० मा पाइने दूध हालेर पकाएको चिया दैनिकरुपमा तीन पटक खाने गरेको जालपा माध्यमिक विद्य...
