Monday, April 20

खोटाङको पुन : निर्माणमा संयुक्त पहल गर्ने सर्वदलीय निर्णय

काठमाडौं, २४ असोज । खोटाङका राजनीतिक दलले भिषण बाढी तथा पहिरोको कारण क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि सहकार्य गर्ने निर्णय गरेका छन् । गत असोज ९ गतेदेखि असोज १२ गतेसम्मको भिषण वर्षाका कारण क्षतिग्रस्त संरचना पुःननिर्माणका लागि प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)को समन्वयमा असोज २३ गते काठमाडौंमा सम्पन्न सर्वदलीय बैठकले संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको हो ।

‘जस लिन’का लागि तछाडमछाड गर्ने परिपाटी विपरित सर्वदलीय बैठकले प्रतिनिधिसभा सदस्य राईको संयोजकत्वमा एक साझा समिति बनाएर पुःननिर्माण तथा दिगो बिकासका लागि आवश्यक निकायमा ध्यानाकर्षण–पत्र बुझाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभा सदस्य राईको संयोजकत्वमा प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, प्रदेश मन्त्री भुपेन्द्र राई, पिके राई, संविधानसभा सदस्यहरु, पुर्व सांसदहरु, पुर्ब प्रदेश सांसद तथा मन्त्रीहरु, खोटाङका राजनैतिक दलका प्रतिनिधि, बौद्धिक व्यक्तित्व, खोटाङ उद्योग बाणिज्य संघ, खोटाङ्गेले काठमाडौंमा स्थापना गरेको संघसंस्था, पुर्व प्रशासक सम्मिलित समिति बनाउने तयारी गरिएको छ । सो समितिले बाढी पहिरोका कारण भएको क्षतीको पुःननिर्माणमा सार्थक पहल गर्नका लागि प्रधानमन्त्री, बिभागीय मन्त्रालय, प्रमुख प्रतिपक्षी दल एबं सबै राजनैतिक दलका प्रमुखहरुलाई भेटेर ध्यानाकर्षण–पत्र बुझाउने बैठकमा सहभागी नेता अरुण चाम्लिङले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य राईले समग्र खोटाङको बिकास र समृद्धिको सवालमा दल र क्षेत्रभन्दा माथि उठेर सबैलाई समन्वय सहकार्य गरेर लैजाने तथा एक्लोभन्दा सामुहिक प्रयत्नबाट मात्र जिल्लाको समस्या समाधानमा सहज हुने बताए । ‘समग्र खोटाङ विकास र समृद्धिको सवालमा दल र क्षेत्रभन्दा माथि उठेर सबैलाई समन्वय र सहकार्य आवश्यक छ । एकतावद्ध भएर पुःननिर्माण र बिकासमा जुटौं,’ प्रतिनिधिसभा सदस्य राईले भने, ‘प्रचार र स्टण्टबाजीभन्दा पनि सामुहिक प्रयत्नबाट खोटाङको पुःनर्निर्माण र दिगो बिकास सम्भव छ ।’

बैठकमा संविधानसभा सदस्य अर्जुन राई, उषाकला राई, एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, रमेश पौडेल, जसपाका नेता रमेश राई, रास्वपाका नेता रबिन्द्र ओझा, नेकपा खोटाङका ईन्चार्ज सन्जिप सी, डा. बिष्णु राई, प्राज्ञ डा. धनप्रसाद सुबेदी, खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई, एमाले कोसी प्रदेश समिति सदस्य राजन ढकाल, माओबादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क समन्वय समितिका नेता पर्शुराम राई लगायत उपस्थित थिए ।