Monday, April 20

खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र

खोटाङ, ३० असोज । खोटाङबासीले खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई गुहारेका छन् । असोज १२ गते सुनकोसीमा आएको बाढीका कारण फोक्सिङटारको पुल बगेपछि निम्तिएको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र बुझाएको हो ।

असोज २३ गते प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)को समन्वयमा काठमाडौंमा सम्पन्न सर्वदलीय-सर्वपक्षीय बैठकको निर्णय अनुसार असोज ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण–पत्र बुझाउँदै फोक्सिङटारमा तत्काल पुल बनाएर प्राकृतिक नाकाबन्दी तोड्न आग्रह गरिएको युवा नेता अरुण चाम्लिङले जानकारी दिए । खोटाङबासीकातर्फबाट प्रधानमन्त्रीलाई प्रतिनिधिसभा सदस्य राईले ध्यानाकर्षण–पत्र बुझाएका थिए ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज बाढीले बगाएपछि उदयपुर र खोटाङको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीले निर्माण गरिरहेको सो पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ‘जस लिन’का लागि तछाडमछाड गर्ने परिपाटीकाबिच प्रतिनिधिसभा सदस्य, प्रदेश मन्त्री, संविधानसभा सदस्य, प्रदेश र संघका पुर्व सांसद, राजनैतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रमुख, सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्योग बाणिज्य संघ, यातायात व्यवसायी लगायतको टोली प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेका थिए ।

टोलीले बाढी पहिरोका कारण क्षतीग्रस्त सडक, झोलुङ्गे पुल, सिँचाई कुलो लगायतका संरचना पुःननिर्माणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय एबं विभागीय मन्त्रालय समक्ष माग राखेका छन् ।

संविधानसभा सदस्य बिशाल भट्टराईले पनि फोक्सिङटारमा तत्काल बेलिब्रिज जोड्ने र स्थायी पुलको काम थाल्ने विषयमा प्रधानमन्त्रीदेखि उच्चपदस्थ कर्मचारी प्रतिवद्ध रहेको सामाजिक सन्जालमा उल्लेख गरेका छन् ।