खोटाङ, ४ कात्तिक । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राईले दोहोरो यातायात सुविधा वापत लिएको रकम फिर्ता गरेका छन् । महालेखा परीक्षकको कार्यालयले दोहोरो यातायात सुविधा लिएको औंल्याएपछि वडाध्यक्ष राईले दोहोरो यातायात सुविधा वापत लिएको रकम फिर्ता गरेका हुन् ।
बेरुजु रकम ‘सुटुक्क’ असुल उपर गर्ने/गराउने जनप्रतिनिधिहरु माझ वडाध्यक्ष राईले भने सामाजिक सञ्जालमार्फत दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार ५२० रुपैयाँ राजश्व शाखामा जम्मा गरेको जानकारी दिएका छन् । राई २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
महालेखाले आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिबेदनमा दोहोरो यातायात सुविधा लिएको भन्दै वडाध्यक्ष राई सहिन नौ जना गाउँ तथा नगरसभाका सदस्यहरुबाट दोहोरो सुविधा वापत लिएको रकम असुल गर्नुपर्ने औंल्याएको थियो ।
गाउँ तथा नगरसभाका सदस्यहरुले पाउने सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ३ को अनुसूची–१ (क)मा सवारी साधन नलिएका पदाधिकारी अध्यक्ष र उपाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुलाई क्रमशः मासिक १० हजार, ४ हजार, २ हजार ५ सय र २ हजार यातायात खर्च व्यवस्था गरिएको छ । तर, मोटरसाईकल लगायतका सवारी साधन सुविधा लिएको तथा मासिक रुपमा यातायात खर्च समेत भुक्तानी भएको देखिएको भन्दै महालेखाले दोहोरो सुविधा लिने पदाधिकारीबाट ५ लाख ७० हजार २४० रुपैयाँ रकम असुल गरी स्थानीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने उल्लेख गरेको थियो ।
