Monday, April 20

किर्ते जन्म दर्ता पेश गर्ने खेलाडीमाथि तीन वर्षे प्रतिवन्ध

खोटाङ, ५ कात्तिक । खोटाङको सोल्मा स्पोर्टस क्लवले १७ वर्षमुनिको उमेर समुहको पुरुष फुटबल प्रतियोगीतामा किर्ते जन्म दर्ता पेश गरेर सहभागीता जनाउने तीन खेलाडीलाई तीन वर्षका लागि प्रतिवन्ध लगाएको छ ।

कात्तिक २ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने १७ वर्षमुनिको उमेर समुहको पुरुष फुटबल प्रतियोगीतामा किर्ते जन्म दर्ता पेश गरेर सहभागी बनेको खुलेपछि दिक्तेल फुटबल क्लवका खेलाडी सुशान्त ताम्राकार, सुदिप गुरुङ र सुनिल कटुवाललाई तीन वर्षका लागि प्रतिवन्ध लगाएको हो ।

तोकिएको खेल नियमावली विपरित प्रतियोगीतामा सहभागी बनेको पूष्टि भएकाले तीन जना खेलाडीलाई २०८४ चैत मसान्तसम्म सोल्मा स्पोर्टस क्लवले आयोजना गर्ने कुनै पनि खेलमा सहभागी नगराइने विज्ञप्तीमा उल्लेख छ ।

कात्तिक ३ गते सोल्मा स्पोर्टस क्लव (सेतो) र दिक्तेल फुटबल क्लव बिच भएको तेश्रो क्वाटरफाइनल खेलमा तीन खेलाडीले किर्ते जन्मदर्ता पेश गरेर सहभागी बनेको खुलेको सोल्मा स्पोर्टस क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिए ।

थप कारबाहीका लागि जिल्ला फुटबल संघ समक्ष पेश गर्ने क्लवले जनाएको छ । १७ वर्षमुनिको उमेर समुहको पुरुष फुटबल प्रतियोगीता सोल्माकै खेलमैदानमा सञ्चालन भइरहेको छ ।