Monday, April 20

मात्तिमको वडा कार्यालयमा लगाइएको तालाबन्दी खुल्यो

खोटाङ, ९ कात्तिक । खोटाङको साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयमा लगाइएको तालाबन्दी खुलाइएको छ । २०८० माघ १९ गते अमेरिका गएका वडाध्यक्ष अर्जुनकुमार कटवाल नफर्किएपछि सर्वदलीय टोलीले कात्तिक ८ गते ताला लगाएका थिए । गाउँपालिका र आन्दोलनरत पक्षबिच वडाध्यक्ष कटवालको सम्बन्धमा आवश्यक कानूनी प्रकृया सुरु गर्ने सहमति जुटेपछि कात्तिक ९ गते ताला खोलिएको हो ।

अमेरिका गएका वडाध्यक्षको वडाध्यक्षको राजीनामा माग गर्दै पुर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराई संयोजकत्वको टोलीले वडा कार्यालयमा ताला लगाएका थिए । वडाध्यक्ष कटवाललाई राजीनामा गराएर आसन्न उप–निर्वाचनमा निर्वाचनको वातावरण मिलाउन दबाव दिने उद्देश्यले सर्वदलीय टोलीले वडा कार्यालयमा ताला लगाएका थिए ।

कटवालले ‘पदबाट राजीनामा दिनुपर्ने वा वडामा आएर काम गर्ने’ वातावरण मिलाउनका लागि १५ दिनको अल्टिमेटम सहित गत साउन २१ गते गाउँपालिकामा ज्ञापन–पत्र बुझाएको थियो । तर ज्ञापन–पत्रमा भनिएका कुनै पनि माग पुरा नभएको भन्दै सर्वदलीय टोली तालाबन्दीमा उत्रिएका थिए ।

कटवाल २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । अमेरिका बसेर जनताको मतको जनमतको अपमान गरेको भन्दै वडाध्यक्ष कटवालको विरोध भइरहेको छ । स्वयं नेकपा माओवादी केन्द्रका नेता समेत कट्वालसँग असन्तुष्ट छन् । वडाध्यक्ष कार्यालयमा उपस्थित नहुँदा जनताले पाउने सेवा, सुविधा, विकास निर्माण लगायतका सेवा प्रभावित भएको छ ।

वडाध्यक्ष कट्वाल २०८० माघ १७ गतेदेखि वडा कार्यालयमा अनुपस्थित छन् । अवधि सकिए पनि वडासदस्य भीमबहादुर खड्काले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । नागरिकता सिफारिस बाहेकका अन्य सिफारिसको काम गरिरहेको कार्यवाहक वडाध्यक्ष खड्काले बताए ।

वडाध्यक्ष कट्वाल २०७९ सालमा पनि अढाई महिना अमेरिका बसेका थिए । त्यसबेला चार वडा सदस्यलाई १५/१५ दिनको कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए ।