Monday, April 20

जथाभावी फालिएका शिशाजन्य बोत्तल व्यवस्थापन गर्न व्यवसायीलाई ३५ दिने अल्टिमेटम

खोटाङ, १४ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभावी छरिएका वा फालिएका शिशाजन्य बोत्तलहरु ३५ दिनभित्र व्यवस्थापन गर्न व्यवसायीहरुलाई अल्टिमेटम दिएको छ । व्यवसायको नाममा बाहिरी जिल्लाबाट आयात हुने पेय पदार्थका बोत्तलहरु प्रयोग गरिसकेपछि जथाभावी पालिएका कारण नगरपालिकाको पर्यावरणमा असर पुगेकाले आज (शुक्रबार)को मितिबाट ३५ दिनभित्र व्यवस्थापन गर्न नगरपालिकाले व्यवसायीलाई अल्टिमेटम दिएको हो ।

नगरपालिकामा फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा डिलर स्वयम्ले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख भएकाले शिशाजन्य फोहर व्यवस्थापन गर्न व्यवसायीलाई अल्टिमेटम दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । “नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय ठाउँहरुमा समेत जथाभावी शिशाका बोत्तलहरु फालिएका छन् । फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा डिलर आफैले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख छ”, उहाँले भन्नुभयो, “जथाभावी फालिएका फोहर व्यवस्थापन गर्न यसअघि पन पटक–पटक पत्राचार गरिएको छ । आफूले गरेको फोहर स्वयम् व्यक्ति, पसल, कम्पनी अथवा डिलरले सफा नगरेको खण्डमा अबको ३५ दिनपछि कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।”

नगरपालिकाको निर्देशनलाई व्यवसायीले नमानेको खण्डमा आगामी दिनमा शिशाजन्य बोत्तल आयातमा पूर्ण प्रतिबन्ध लगाइने नगर प्रमुख भट्टराईले जानकारी दिनुभएको छ । नगरपालिकाको पर्यावरणलाई स्वच्छ र सफा राख्नका लागि सरोकारवाला निकायसँग पटक–पटक छलफल तथा अन्तरक्रियासमेत गर्दै आइएको नगरपालिकाले जनाएको छ ।

जथाभावी फालिएका शिशाजन्य वस्तुका कारण जिल्लाका खेतीयोग्य जमिन तथा खोलाखोल्सीको वातावरणसमेत बिग्रिएको पर्यावरणको क्षेत्रमा काम गर्ने व्यक्तिहरुले बताउँदै आएका छन् । जिल्लाका सबै स्थानीय तहमा ग्रामीण सडकमार्फत यातायातका सवारी साधन पुगेसँगै आयातित खाद्य पदार्थ भित्रिँदा मानव स्वास्थ्य तथा वातावरणलाई समेत दीर्घकालीन असर गर्ने शिशाजन्य वस्तुहरु भित्रिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा पेय पदार्थहरु (रक्सी, बियर, ड्यू, कोक, पेप्सी आदि)सँगै आयातित जङ्कफुडजन्य वस्तु उपभोग गर्नेको सङ्ख्यासमेत वृद्धि भएको सर्वेक्षेणले देखाएको छ । गाउँघरमा उत्पादन हुने अग्र्यानिक खाद्यवस्तुभन्दा आयातित वस्तुहरु (चाउचाउ, थोक्पा, बिस्कुट आदि) स्वादिलो र छिटो खान मिल्ने भएकाले जङ्कफुडजन्य खाद्य पदार्थ उपभोग गर्ने उपभोक्ताको सङ्ख्या वृद्धि भएको हो ।

आयातित खाद्यवस्तुले जिल्लावासीको स्वास्थ्यसँगै आर्थिक बचतमा समेत ठूलो असर पुगेको कृषिविज्ञ मदन राईले बताउनुभएको छ । “मानव स्वास्थ्य र आर्थिक बचतको बारेमा नागरिकलाई सचेत गराउने पहिलो जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधिको हो । यसप्रति उनीहरुको ध्यान गएको देखिदैन”, उहाँले भन्नुभयो, “मिठो स्वाद र क्षणिक सुख खोज्दा नागरिकलाई दीर्घकालीन असर गरिरहेको छ । सम्बन्धित निकायले बेलैमा ध्यान नदिएको खण्डमा ठूलो असर पुग्ने निश्चित छ ।”

यतिसम्म कि, मेलापातका लागि गरिने अर्मपर्म (एउटा घरका व्यक्तिले अर्को घरका व्यक्तिलाई सहयोग गर्ने चलन)मा समेत आयातित खाद्य पदार्थ (चाउचाउ, थुक्पा, ड्यू आदि) प्रयोग हुने गरेको स्थानीयवासीहरुले बताएका छन् । यसअघिसम्म खाजाको रुपमा खाइने मकैभटमासको ठाउँमा चाउचाउ–थुक्पा तथा दहीमही वा जाँडको ठाउँमा ड्यू, कोक, फ्यान्टा आदि प्रयोग गर्ने स्थानीयवासीको सङ्ख्या बढेको हो ।