Thursday, June 4

उत्पादन वृद्धि र लागत कम गर्न रावाबेँसीका कृषकलाई आधुनिक कृषि सामग्री

खोटाङ, २१ जेठ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र कृषकको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकै दिन रु २६ लाख बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो ।

गाउँपालिकाको ७५ तथा कृषकको २५ प्रतिशत लगानीमा खरिद गरिएको कृषि सामग्री गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको गाउँपालिकाका कृषि प्राविधिक उद्धव बास्तोलाले जानकारी दिनुभएको छ । सम्बन्धित वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाको कृषि विकास समितिले छनोट गरेर आवश्यकताका आधारमा कृषकलाई कृषि सामग्री प्रदान गरेको हो ।

कृषि विकास समितिबाट छनोट भएका कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै प्रविधिको प्रयोग गरेर कृषकको उत्पादन बढाउने उद्देश्यले कृषि सामग्री प्रदान गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

खेतबारी जोत्नको लागि ३३ वटा मिनि टिलर, धान, मकै र गहँु कुट्नको लागि आठवटा थ्रेसर, धान, घाँस काट्नको लागि १३ वटा ब्रस कटर, खाडल खन्नका लागि पाँचवटा अर्थअगर प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । कृषिबालीमा विषादि छिट्न प्रयोग हुने इलेक्ट्रिक स्प्रेअर ५२ वटा, सिँचाइको लागि हजारी ४२ वटा, आधुनिक मौरी घार ११२ वटा र फलफूलको हाँगा काट्ने सिकेचर आठवटा प्रदान गरिएको हो ।

प्रविधिको बढ्दो प्रयोग भइरहेको अवस्थामा गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा कृषि सामग्री ल्याएर गाउँमै उपलब्ध गराएपछि कृषकहरु हर्षित भएका छन् । रावाबेँसी गाउँपालिका जिल्लाको अन्य नौँ स्थानीय तहको तुलनामा सबैभन्दा बढी कृषि उपज उत्पादन हुने स्थानीय तहमा पर्दछ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो गाउँपालिकामा यतिबेला लिची उत्पादन भएको छ । लिची उत्पादनको केन्द्र मानिने रावाबेँसी गाउँपालिकामा गत वर्ष लिची बिक्रीबाट मात्रै रु ९५ लाख ६८ हजार रकम भित्रिएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

कृषकले उत्पादन गरेका लिची आफ्नै गाउँमा प्रति केजी रु ५२ ले बिक्री गरेको रकमको हिसाब गर्दा रु ९५ लाख ६८ हजार बराबरको आम्दानी देखिएको कृषि शाखा प्रमुख बास्तोलाले जानकारी दिनुभएको छ । छवटा वडा रहेको यो गाउँपालिकाको वडा नं. १ कुभिण्डेका स्थानीय खड्गप्रसाद रेग्मीले यस वर्ष एउटै बोटमा फलेको लिची रु ४५ हजारमा ठेकेदारलाई घरैबाट बिक्री गर्नुभएको थियो ।

लिचीको फल बिक्रीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको प्रवद्र्धनमा खासै चासो नदिएको किसानको गुनासो छ । आफूहरुले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने उनीहरुको माग छ ।

रावाबेँसी गाउँपालिकामा फलफूलका साथै धान, मकै, गहुँ, कोदा तथा फापर अत्यधिक मात्रामा उत्पादन हुने गरेको छ । रावाखोला फाँटमा उत्पादन भएको धान राजधानी काठमाडौँ लगायत विभिन्न ठाउँमा निर्यात हुने गरेको छ ।