खोटाङ, २२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयवासीले आयातित पेय पदार्थ सेवनमा पूर्णरुपले प्रतिबन्ध लगाएका छन् । आयातित पेय पदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले विहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेय पदार्थहरु सेवनमा पूर्णरुपले प्रतिबन्ध लगाएका हुन् ।
बाहिरी जिल्लाबाट आयातित पेय पदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्णरुपमा प्रतिबन्ध लगाइएको बुइपास्थित गैरी फुलेलीका स्थानीयवासी एवम् सामाजिक अभियान्ता अरुण राईले जानकारी दिनुभयो । “हाम्रो गाउँमा विहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया, सांस्कृतिक चाडपर्व, मेलापात लगायतमा आयातित पेय पदार्थ सेवन गर्ने चलन थियो । एउटा घरमा हुने कार्जेमा आयातित पेय पदार्थ प्रयोग गरेपछि अर्को घरले पनि प्रयोग गर्नै पर्ने बाध्यता सिर्जना भएको थियो”, राईले भन्नुभयो, “आयातित पेय पदार्थ प्रयोग गर्दा धेरै आर्थिक भार पर्ने गर्छ । यसले स्थास्थ्य र सँस्कृतिमा पनि प्रतिकूल असर गर्ने भएकाले आगामी दिनमा कसैले पनि प्रयोग नगर्नेगरी पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो ।”
गैरी फुलेलीमा गत असोज–२९ गते भएको स्थानीय सुशीला राईको विवाहदेखि आयातित पेय पदार्थ सेवनमा पूर्णरुपले प्रतिबन्ध लगाइएको स्थानीयवासीले बताएका छन् । २८ घर स्थानीयवासीको बसोवास रहेको गैरी फुलेलीमा स्थानीय फुलेली सेवा समाजको पहलमा गत असोज–१६ गते भएको भेलाको निर्णयले गाउँमा हुने काजभोज तथा मेलापातमा आयातित पेय पदार्थ सेवनमा पूर्णरुपले प्रतिबन्ध लगाएको हो ।
कुसुङ्खाका स्थानीयवासी भने गत वर्षदेखि नै आयातित पेय पदार्थ आयात तथा सेवनमा प्रतिबन्ध लगाएको थियो । बुइपाको एउटा गाउँबाट शुरुवात गरिएको आयातित पेय पदार्थ सेवनमा प्रतिबन्ध लगाउने अभियान क्रमशः अर्को टोल तथा गाउँहरुमा विस्तार हुँदै जानु सकारात्मक विषय भएको स्थानीयवासी एवम् अनेरास्ववियु (क्रान्तिकारी) खोटाङका अध्यक्ष डार्विन चाम्लिङले बताउनुभयो ।
आयातित पेय पदार्थ प्रतिबन्ध लगाइएको गाउँ तथा टोलहरुमा हुने काजकिरिया तथा चाडपर्वमा परम्परागतरुपमा प्रयोग हुँदै आएको सगुन (स्थानीयस्तरमा उत्पादन हुने जाँड, रक्सी र चिया) प्रयोग गर्ने गरिएको स्थानीयवासीहरुले बताएका छन् । गाउँमा हुने विहेबटुल तथा मेलापातमा यसअघि ड्यू, कोक, जुसका साथै मादक पदार्थको रुपमा सेवन गरिने विभिन्न कम्पनीका रम, बियर लगायतका आयातित पेय पदार्थ प्रयोग गर्दा कार्जे गर्ने घरलाई ठूलोमात्रामा आर्थिक भार पर्ने गरेको थियो ।
आयातित पेय पदार्थ सेवनमा प्रतिबन्ध लगाउने स्थानीयवासीको निर्णयलाई वडा कार्यालयको समेत सहयोग र समर्थन रहेको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “स्थानीय अगुवा युवाहरूले स्वतः स्फुर्तरुपमा आयातित पेय पदार्थ सेवन नगर्ने निर्णय गरेका छन् । यसले परम्परागत संस्कार, आर्थिक, जनजीविका, स्वास्थ्य लगायतका विषयमा समेत टेवा पु¥याएको छ”, उहाँले भन्नुभयो, “स्थानीयले अभियानको रुपमा शुरुवात गरेको आयातित पेय पदार्थ प्रतिबन्ध गर्ने कार्य प्रभावकारी देखिएको छ । अबको केही दिनभित्र सर्वपक्षीय भेला आयोजना गरेर वडामा नै पूर्णरुपमा प्रतिबन्ध लगाउने योजना बनाएका छौँ । यसले मानव स्वास्थ्यमा पर्ने प्रतिकूल असरका साथै स्थानीयले व्यहोर्दै आएका आर्थिक भार कम हुने अपेक्षा गरिएको छ ।”
दश स्थानीय तह रहेको जिल्लामा हुने अधिकांश काजभोज तथा विहेबटुलका साथै मेलापातमा समेत आयातित पेय पदार्थ उपभोग गर्ने चलन बढेको पाइएको छ । यसले मानव स्वास्थ्यका साथै स्थानीयवासीको आर्थिक भारमा समेत प्रतिकूल असर गर्ने गरेको जानकारहरुले बताउने गरेका छन् ।
जिल्लामा आयात हुने पेय पदार्थको गुणस्तरका विषयमा उपभोक्ताहरुबाट पटक–पटक कुरासमेत उठ्दै आएको छ । स्थानीयवासी तथा उपभोक्ताको गुनासोपछि गरिएका अनुगमनहरुमा भेटिएका गुणस्तरहीन पेय पदार्थ बरामद गरेर नष्ट गरिए पनि अहिलेसम्म बिक्रेताहरुलाई कारबाही भने, गरिएको छैन ।
