खोटाङ, २४ पुस ।
दिक्तेलबाट काठमाडौँ जाँदै गरेको टाटा सुमोमाथि काभ्रेको भकुण्डेबेँसीस्थित पात्लेखेतमा तोडफोड भएको छ । वीपी राजमार्ग अन्तरगत दिक्तेल–काठमाडौँ सडकखण्डको पात्लेखेतमा विपरित दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरुले साइड नदिएको भन्दै तुवाचुङ मारातिका यातायात प्रा.लि. खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमाथि ढुङ्गामुढासहित तोडफोड गरेका हुन् ।
यात्रु लिएर काठमाडौँ हिँडेको सुमोमाथि तोडफोड भएपछि चालक केवल राईले गाडी भगाएर काभ्रे प्रहरी चौकी पु¥याएको यातायात प्रा.लि.का अध्यक्ष टेकिन्द्र राईले जानकारी दिनुभएको छ । “गाडी तोडफोडमा संलग्न छ जनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भएको छ । उनीहरुमाथि कडा कारबाही हुनुपर्छ”, उहाँले भन्नुभयो, “तोडफोडमा संलग्नहरुले मादक पदार्थ सेवन गरेका थिए भन्ने बुझिएको छ । अराजक गतिविधि गर्ने कसैलाई छुट छैन । उनीहरुमाथि कडाभन्दा कडा कानूनी कारबाही गर्नुका साथै उचित क्षतिपूर्तीको व्यवस्था हुनुपर्छ ।”
यात्रु लिएर काठमाडौँतर्फ गइरहेको गाडी आज (बुधबार) साँझ बीच सडकमा तोडफोड भएपछि त्यसमा सवार यात्रुहरु बिचल्लीमा परेका थिए । तोडफोडपछि बिचल्लीमा परेका यात्रुहरुलाई अर्को गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पु¥याइएको यातायात प्रा.लि.का अध्यक्ष राईले जानकारी दिनुभएको छ ।
घटनापछि सार्वजनिक भएको भिडियो क्लिपका आधारमा गाडी तोडफोड गर्नमा संलग्न रहेको आशंकामा पाँचजना व्यक्तिलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले बताउनुभयो । “घटना बेलुकाको हो । अहिले रात प¥यो”, उहाँले भन्नुभयो, “पक्राउ परेकाहरुलाई कार्यालय ल्याउनेक्रम जारी छ । यस विषयमा विस्तृत अनुसन्धान गरेर थप जानकारी भोलिमात्र उपलब्ध गराउन सक्छौँ ।”
गत असोज–१० र ११ गतेको अविरल वर्षाका कारण रोसीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड साँघुरो छ । विपरित दिशाबाट आउँदै गरेको गाडीलाई साइड नदिएको भन्दै उनीहरुले दिक्तेलबाट जाँदै गरेको सुमोमा चारैतिर तोडफोड गरेको भिडियो क्लिपमा देख्न सकिन्छ ।
गुडिरहेको गाडीमा एक्कासी ढुङ्गामुढा गर्न थालेपछि सबै झ्यालढोका थुनेर भगाउन सफल भएको चालक राईले जानकारी दिनुभयो । जबरजस्ती भगाएर प्रहरी चौकीसम्म पु¥याइएको गाडी तोडफोडका कारण पुनः स्टार्ट (सञ्चालन) नभएपछि सोही ठाउँमा छाडेर अर्को गाडीमा काठमाडौँ गएको चालक राईको भनाइ छ ।
