Thursday, June 4

सुमो तोडफोड गर्नमा संलग्न निजी गाडीमा सवार नौँजना पक्राउ

खोटाङ, २५ पुस । दिक्तेलबाट काठमाडौँ जाँदै गरेको टाटा सुमोमाथि काभ्रेको भकुण्डेबेँसीस्थित पात्लेखेतमा तोडफोड गर्नमा संलग्न नौँजनालाई प्रहरीले पक्राउ गरेको छ । वीपी राजमार्ग अन्तरगत दिक्तेल–काठमाडौँ सडकखण्डको पात्लेखेतमा बुधबार साँझ विपरित दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरुले तुवाचुङ मारातिका यातायात प्रा.लि. खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमाथि साइट नदिएको भन्दै ढुङ्गामुढासहित तोडफोड गरेका थिए ।

गाडी तोडफोड भएको घटनापछि सार्वजनिक भएको भिडियो क्लिप तथा चालकको ठाडो उजुरीको आधारमा गाडी तोडफोड गर्नमा संलग्न रहेका नौँ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेले बताउनुभयो । “घटना बुधबार बेलुकाको हो । पक्राउ परेकाहरुलाई कार्यालय ल्याउन ढिला भयो । राति अबेर कार्यालयमा ल्याइएका उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानपछि कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ । पक्राउ परेका उनीहरु दुईवटा निजी गाडीमा सवार गरेका रहेछन् । गाडीसमेत नियन्त्रणमा लिइएको छ ।”

तोडफोडको घटनापछि फरार बनेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेर काभ्र प्रहरीमा ल्याएपछि सिरासतमा राखिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध जाहेरी दिनका लागि यातायात प्रा.लि.का प्रमुख तथा प्रतिनिधिलाई खबर गरिएको सूचना अधिकारी डिएसपी घलेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुले कसैको निजी गाडी भाडामा लिएर घुम्न गएको अवस्थामा घटना भएको प्रहरीको अनुमान छ । पक्राउ परेका व्यक्ति तथा उनीहरुले नियन्त्रणमा लिएको निजी सवारी साधनको बारेमा प्रहरीले केही खुलाएको छैन ।

यात्रु लिएर काठमाडौँ हिँडेको सुमोमाथि तोडफोड भएपछि चालक केवल राईले गाडी भगाएर ज्यान बचाएपछि काभ्रे प्रहरी चौकी पु¥याएको यातायात प्रा.लि.का अध्यक्ष टेकिन्द्र राईले जानकारी दिनुभएको छ । “गाडी तोडफोडमा संलग्नलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भएको छ । उनीहरुमाथि कडा कारबाही हुनुपर्छ”, उहाँले भन्नुभयो, “तोडफोडमा संलग्नहरुले मादक पदार्थ सेवन गरेका थिए भन्ने बुझिएको छ । अराजक गतिविधि गर्ने कसैलाई छुट छैन । उनीहरुमाथि कडाभन्दा कडा कानूनी कारबाही गर्नुका साथै उचित क्षतिपूर्तीको व्यवस्था हुनुपर्छ ।”

मध्यपहाडी लोकमार्ग अन्तरगत छिमेकी हुँदै दिक्तेलबाट यात्रु लिएर काठमाडौँतर्फ गइरहेको गाडी बुधबार साँझ बीच सडकमा तोडफोड भएपछि त्यसमा सवार यात्रुहरु बिचल्लीमा परेका थिए । ठूलो समूहमा आएका व्यक्तिहरुले तोडफोड गरेपछि बिचल्लीमा परेका यात्रुहरुलाई अर्को गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पु¥याइएको यातायात प्रा.लि.का अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

गत असोज–१० र ११ गतेको अविरल वर्षाका कारण रोसीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड साँघुरो छ । विपरित दिशाबाट आउँदै गरेको गाडीलाई साइड नदिएको भन्दै उनीहरुले दिक्तेलबाट जाँदै गरेको सुमोमा चारैतिर तोडफोड गरेको भिडियो क्लिपमा देख्न सकिन्छ ।

गुडिरहेको गाडीमा एक्कासी ढुङ्गामुढा गर्न थालेपछि सबै झ्यालढोका थुनेर भगाउन सफल भएको चालक राईले जानकारी दिनुभयो । जबरजस्ती भगाएर प्रहरी चौकीसम्म पु¥याइएको गाडी तोडफोडका कारण पुनः स्टार्ट (सञ्चालन) नभएपछि सोही ठाउँमा छाडेर अर्को गाडीमा काठमाडौँ गएको चालक राईको भनाइ छ ।