Monday, April 20

प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटाल

खोटाङ, १३ माघ । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटाल चयन हुनुभएको छ । चौतारीको पाँचौँ जिल्ला अधिवेशनमा उपाध्यक्ष चयन हुनुभएका ठटाल छैटौँ जिल्ला अधिवेशनमा अध्यक्ष चयन हुनुभएको हो ।

दिक्तेलस्थित होटल शुभदिनमा आज (आइतबार) सम्पन्न छैटौँ जिल्ला अधिवेशनले समितिको उपाध्यक्षमा पवन राई, महिला उपाध्यक्षमा अस्मिता खत्री, सचिवमा सन्तोष पौडेल, सहसचिवमा प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारीलाई चयन गरेको छ । एघार सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा टिवन राई, प्रमेश ढकाल, भुवन कटवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश समितिका सह–ईन्चार्ज हरिवोल आचार्यले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ । कार्यक्रमका वक्ताहरुले चौतारीका नवनिर्वाचित कार्यसमितिलाई सत्य, तथ्य र निष्पक्ष भएर पत्रकारिता गर्न आग्रह गरेका छन् ।

यसैबीच, छैटौँ जिल्ला अधिवेशन उद्घाटनको अवसर पारेर चौतारीले कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’सहित जिल्लाका अग्रज तीनजना पत्रकारलाई सम्मान गरेको छ । चौतारीले मन्त्री राईसहित नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका निवर्तमान अध्यक्ष लिदिप खत्री, पूर्वअध्यक्ष दमन राई र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश परिषद् सदस्य केदार मगरलाई सम्मान गरेको हो ।

सामाजिक विकासमन्त्री राईलाई उज्ज्वल भविष्यको कामना गर्दै तथा पत्रकारहरुलाई जिल्लाको समग्र विकास तथा सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको चौतारीका निवर्तमान जिल्ला अध्यक्ष सीताराम राई ‘सञ्जिव’ले जानकारी दिनुभयो । सम्मानित मन्त्री तथा पत्रकारहरुलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री उषाकला राई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सह–ईन्चार्ज तथा नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष आचार्य लगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।