Monday, April 20

शुभम् फाउण्डेशन घटना प्रकरण : बाल यौन दुरुपयोग मुद्दामा कृषि विज्ञ मदन राई दोषी ठहर

खोटाङ, १३ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले कृषि विज्ञ मदन राईविरुद्ध दर्ता गरेको मुद्दामा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ । पीडित भनिएकी किशोरीले दिएको उजुरीको आधारमा प्रहरीले दर्ता गरेको बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा कृषि विज्ञ राईलाई अदालतले यही माघ–१० गते कसुरदार ठहर गरेको हो ।

जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले कृषि विज्ञ राईलाई दोषी ठहराएको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदिपकुमार भट्टराईले जानकारी दिनुभएको छ । यद्यपि, कृषि विज्ञ राईलाई दोषी ठहर गरेपनि कति सजाय हुने भन्नेबारे भने अर्को पेसीमा सुनुवाइ हुने जिल्ला अदालतले जनाएको छ ।

अदालतका सूचना अधिकारी भट्टराईका अनुसार सजाय निर्धारणका लागि यही माघ–२५ गतेलाई अर्को पेसी तोकिएको छ । दिक्तेलस्थित सोल्मामा आफैले सञ्चालन गरेको शुभम् फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा कृषि विज्ञ राई वि.सं. २०८० वैशाख–२९ गते फाउण्डेशनबाटै पक्राउ परेका थिए ।

फाउण्डेशनका संस्थापक समेत रहनुभएका ७५ वर्षीय राईले बिगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर स्टाटस लेख्दै आउनुभएको थियो । यौन शिक्षाको नाममा सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेको विषयमा संरक्षक राईको चौतर्फी आलोचना हुँदै आएको थियो ।

वि.सं. २०८० वैशाख–२९ गते पक्राउ परेका कृषि विज्ञ राईलाई जिल्ला अदालत खोटाङले वि.सं. २०८१ जेठ–२२ गते रु चार लाख धरौटीमा छाडेको थियो । धरौटी बुझाएर अदालतबाट छुटे पनि कृषि विज्ञ राईलाई पुनः फाउण्डेशनमा जान भने अदालतले नै रोक लगाएको थियो ।

वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगरपालिका–२ सोल्मामा रहेको शुभम् फाउण्डेशनमा करिब १५० विद्यार्थी अध्ययनरत छन् । फाउण्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा दिएको उजुरीका आधारमा कृषि विज्ञ राई पक्राउ परेका हुन् ।

तत्कालीन जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलासले मुद्दाको फैसला नभएसम्म बालिकाको अन्तरिम संरक्षणका लागि फाउण्डेशनमा जान नपाउनेगरी कृषि विज्ञ राईलाई धरौटीमा रिहा गरेको थियो । बस्तुगत सीप र व्यवहारिक शिक्षासहित पठनपाठन हुँदै आएको फाउण्डेशनले नेपालमा छुट्टै पहिचान बनाएको थियो ।

प्रतिवादी कृषि विज्ञ राईतर्फबाट दुई वरिष्ठसहित १४ जना कानून व्यवसायी र वादी नेपाल सरकारकातर्फबाट दुई जना सरकारी वकिलले थुनछेक बहस गरेका थिए । आरोपित कृषि विज्ञ राईविरुद्ध वि.सं. २०८० जेठ–२१ गते जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी अभियोगपत्र दायर गरेको थियो ।