खोटाङ, २४ माघ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही फागुन–१ गतेबाट ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१’ आयोजना हुने भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका साथै स्थानीय कला तथा सँस्कृति, कृषि र खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।
नमुना स्पोट्र्स क्लब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको आयोजनामा हुन लागेको महोत्सव फागुन–१६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि मेला प्रदर्शनी, पत्रकार तथा विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूलाई सम्मान, गायन तथा लोक नृत्य प्रतियोगिता, ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुति लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
महोत्सवमा विभिन्न जातजातिको खाना, राडीपाखी, कृषि उपज, जडीबुटी, घरेलु तथा साना उद्योगबाट उत्पादित दैनिक उपभोग्य सामग्रीहरु स्टलको रुपमा राखिने आयोजक नमुना स्पोट्र्स क्लबका अध्यक्ष सविन राई ‘विज्ञान’ले जानकारी दिनुभएको छ । महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न मनोरञ्जनात्मक खेलहरू रोटेपिङ, मिकिमाउस, स्कार्पियो गाडी, जम्पिङ, तिरबोर्ड, हात्तीघोडा रेस, घडी चिठ्ठा लगायतका खेलहरूको व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ ।
दिक्तेल बजारमा सञ्चालन हुने महोत्सवले पर्यटन, स्थानीय कला तथा सँस्कृति र खेलकुदलाई प्रवद्र्धन गर्नुका साथै आर्थिक गतिविधिलाई समेत टेवा पु¥याउने उद्देश्य राखिएको क्लबका निवर्तमान अध्यक्ष काजीमान राईले जानकारी दिनुभयो । “जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको व्यापार व्यवसाय सिथिल बन्दै गएको छ । यसलाई चलाउमान बनाउन महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “महोत्सवले पर्यटन, स्थानीय कला तथा सँस्कृति र खेलकुदलाई प्रवद्र्धन गर्नुका साथै आर्थिक गतिविधिलाई समेत टेवा पु¥याउने उद्देश्य राखिएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सव सफल पार्न सबैको साथ आवश्यक छ ।”
महोत्सव अवधिभरका हरेक दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । दिक्तेलस्थित जैपुरेडाँडामा सञ्चालन हुने महोत्सव सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमतिसमेत दिइसकेको आयोजकले जनाएको छ ।
स्थानीय उत्पादन तथा व्यवसायीलाई प्रवद्र्धन गर्न बाहिरका व्यापारी तथा व्यवसायीलाई महोत्सवमा पूर्णरुपमा बन्देज गरिएको प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव मूल आयोजक समितिका संयोजक राजेन्द्र राईले जानकारी दिनुभएको छ । “महोत्सवको मूल उद्देश्य पर्यटन र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु हो । सबै पक्षलाई समेटेर महोत्सवलाई बहुआयमिक बनाउने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “महोत्सव सफल पार्न विभिन्न निकायसँग छलफल गरिरहेका छौँ । जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा हुने महोत्सवमा रु दुई करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।”
महोत्सवमा गायक राजेशपायल राई, शम्भु राई, गायिका एलिना चौहान, बबिना किराती, सन्तोष पन्थी, बालिका तामाङसहित भ्वाईस अफ नेपालमा प्रतिस्पर्धा गरिरहेका खोटाङ्गे गायक÷गायिकाहरुको साँगीतिक प्रस्तुति जनाइएको छ । महोत्सवलाई थप प्रभावकारी बनाउन हाँस्य कलाकार दीपाश्री निरौलासहितका कलाकारहरुलाई समेत महोत्सवमा ल्याइने आयोजकले जनाएको छ ।
