खोटाङ, २२ माघ । जिल्लाका करिब दश हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप उपलब्ध गराउनेगरी खोटाङमा एचपिभी खोप कार्यक्रम शुरुवात् गरिएको छ । देशभर एकैसाथ शुरुवात् गरिएको एचपिभी खोप अभियान अन्तरगत जिल्लाका नौँ हजार ९९५ जना किशोरीलाई एचपिभी खोप उपलब्ध गराउनेगरी खोप कार्यक्रम शुरुवात् गरिएको हो ।
कक्षा–६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाइ एचपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय, खोटाङका प्रमुख जिवन चौलागाईँले जानकारी दिनुभएको छ । खोप अभियानका लागि २७४ खोप केन्द्रमा ५४८ स्वयम्सेवक र १०१ जना सुपरिवेक्षक परिचालन गरिएको छ ।
जिल्लाका दशवटै स्थानीयमा दुई चरण गरेर खोप अभियान सञ्चालन हुने जनाइएको छ । पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माघ–२२ गतेदेखि २६ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ ।
यस्तै, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकामा माघ–२३ गतेदेखि २७ गतेसम्म एचपिभी खोप खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पाठेघरको मुखलाई क्यान्सर हुनबाट जोगाउन एचपिभी खोप अनिवार्य लगाउनुपर्ने भएकाले खोप अभियानमा कोही पनि किशोरीलाई नछुटाउन आग्रह गर्नुभएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा समन्वय समिति प्रमुख राईले तथा स्थानीय तहहरुमा सम्बन्धित स्थानीय तहका प्रमुखहरुले एचपिभी खोप अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ । अभियानको पहिलो दिन २२ प्रतिशत किशोरीलाई खोप उपलब्ध गराइएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
