फागुन–११, खोटाङमा ऐतिहासिक रुपमा आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित दिक्तेलबजारमा यही फागुन १५, १६ र १७ गते हुने प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो ।
स्थानीय स्तरमा उपलब्ध बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राख्दैे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बाँस सम्मेलनको अन्तिम तयारी धमाधम भईरहेको छ । बिशिष्ट पाहुनाहरुलाई आवासको ब्यवस्था, स्वास्थ्य सेवा, मञ्च ब्यवस्थापन, स्टल ब्यस्थापन लगायतको कार्य अन्तिममा पुगेको मेयर तीर्थराज भट्टराईले जनाउनुभयो । हालसम्म देशभरबाट ५२ वटा स्टल ल्याईने टुंगो लागेको छ । नगरपालिका मुख्य आयोजक रहेको सम्मेलनको आयोजक बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–बन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो प्रा.लि. ललितपुर रहेका छन् ।
१५ वडा रहेको नगरपालिकाभित्रका सबै वडाध्यक्षहरुको नेतृत्वमा फरक–फरक समिति बनाई सम्मेलन तयारीलाई अघि बढाईएको थियो । तयारी उप–समिति लगायत जिल्लाका सबै सुरक्षा निकाय, उद्योग बाणिज्य संघ, बिभिन्न संघसंस्था, जनप्रतिनिधि लगायत सबै पक्ष सम्मेलन सफल पार्न जुटिरहेको मेयर भट्टराईको भनाई छ ।
बाँसको संरक्षण, ब्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता, प्रकृतिको संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्दि गरी समृद्द स्थानीय तह, प्रदेश र राष्ट्र बनाउने सम्मेलनको मुख्य ध्यये रहेको छ । तीन दिने सम्मेलन अवधीमा बाँसजन्य सामाग्रीहरुको प्रदर्शनी तथा बिक्रि बितरणका साथै बिज्ञहरुबाट बिभिन्न कार्यपत्रहरु प्रस्तुत लगायतका कार्यक्रमहरुको तय गरिएको छ । सम्मेलनमा बाँससँग सम्बन्धित १३ जना बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले उल्लेख गरेको छ । यो सम्मेलन तीन दिने सम्मेलन मात्र नभई बाँससम्बन्धी राष्ट्रकै नीति निर्माण गर्ने सम्मेलन भएको नगरप्रमुख भट्टराईले बताउनुभयो । सम्मेलनको छलफलबाट दिक्तेल घोषणापत्र सार्बजानिक गर्ने र सो घोषणापत्रकै आधारमा नेपालभर लागु हुने बाँस सम्बन्धी नीति निर्णय हुने नगरप्रमुखले सुनाउनुभयो ।
सम्मेलनको क्रममा यलम्बर बाजा, बाँसुरी, बिनायो लगायत बाँसजन्य बाजाहरु बजाउने कार्यक्रम तय गरिएको छ । बाँसको महत्व र उपयोगिता दर्शाउन तथा प्रबद्र्दन गर्न लिङ्गे पिङ खेल्ने, बाँसमाथि चढेर भाले झिक्ने प्रतियोगिता लगायत बिभिन्न कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
करिब ४७ लाख रुपैंयाँ बराबरको खर्च हुने अनुमान गरिएको बाँस सम्मेलनका लागि नगरपालिकाको तर्फबाट पाँच लाख रुपैंयाँ मात्र बजेट बिनियोजन गरिएको छ । अन्य खर्चका लागि वातावरण सम्बन्धी काम गर्ने निकायहरु, बिभिन्न मन्त्रालय, संघसंस्था लगायतबाट नगरपालिकाको खातामा आर्थिक सहयोग जुटेको उल्लेख छ । अनुमानित खर्चमा थप हुन सक्ने आँकलन नगरपालिकाको रहेको छ । जिल्ला बाहिरबाट तीन सयदेखि साढे तीन सय जनासम्मले सम्मेलनमा सहभागी बन्ने जानकारी गराईरहेको बताईएको छ ।
नगरपालिका तथा जिल्लाभर नै परम्परागत शैलीमा प्रयोग हुँदै आएको बाँसलाई पछिल्लो समय ब्यवसायिक हस्तकलाका रुपमा उपयोग गर्न थालेको पाईएको छ । बाँस तथा बाँसजन्य हस्तकलाका सामाग्रीहरुको प्रबद्र्दनमा जुट्दै आएको नगरपालिकाले कार्यालय सामाग्रीहरुमा बाँसकै प्रयोग गर्दै आएको छ ।
नगरपालिकाले बाँस सम्मेलनको प्रचार–प्रसार गर्न तथा बाँसको महत्व र उपयोगिता दर्शाउन एक महिना अगाडी खुला बाँसुरी बाद्यन प्रतियोगिता आयोजना गरेको थियो । यस्तै, नगरपालिकाले बिद्यार्थीहरुबीच निबन्ध प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेको थियो ।।
