फागुन–१२, यतिखेर खोटाङबासी लगायत बाँस क्षेत्रसँग सम्बन्ध र सरोकार राख्ने सबै पक्षको ध्यान “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”तर्फ केन्द्रीत भएको छ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यही फागुन १५, १६ र १७ गते दिक्तेलबजारमा आयोजना गर्न लागेको ऐतिहासिक बाँस सम्मेलनतर्फ नगरबासी, जिल्लाबासी तथा देशभरका सम्बन्धित र सरोकारवाला पक्षको ध्यान खिचिएको हो ।
“जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित स्थानीय स्तरमा उपलब्ध बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राखी आयोजना गरिएको राष्ट्रिय बाँस सम्मेलनको तयारी करिब पूरा भईसकेको छ । सम्मेलनमा आमन्त्रित तथा सहभागी बिशिष्ट पाहुनाहरुलाई आवासको ब्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, मञ्च ब्यवस्थापन, स्टल ब्यस्थापन लगायतको कार्यको टुंगो लागिसकेको मेयर तीर्थराज भट्टराईले जनाउनुभयो । हालसम्म देशभरबाट ५२ वटा स्टल ल्याईने टुंगो लागेको छ । नगरपालिका मुख्य आयोजक रहेको सम्मेलनको आयोजक बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–बन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो प्रा.लि. ललितपुर रहेका छन् ।
१५ वडा रहेको नगरपालिकाभित्रका सबै वडाध्यक्षहरुको नेतृत्वमा फरक–फरक समिति बनाई सम्मेलन तयारीलाई अघि बढाईएको थियो । तयारी उप–समिति लगायत जिल्लाका सबै सुरक्षा निकाय, उद्योग बाणिज्य संघ, बिभिन्न संघसंस्था, जनप्रतिनिधि लगायत सबै पक्ष सम्मेलन सफल पार्न जुटिरहेको मेयर भट्टराईको भनाई छ ।
बाँसको संरक्षण, ब्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता, प्रकृतिको संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्दि गरी समृद्द स्थानीय तह, प्रदेश र राष्ट्र बनाउने सम्मेलनको मुख्य ध्यये रहेको छ । तीन दिने सम्मेलन अवधीमा बाँसजन्य सामाग्रीहरुको प्रदर्शनी तथा बिक्रि बितरणका साथै बिज्ञहरुबाट बिभिन्न कार्यपत्रहरु प्रस्तुत लगायतका कार्यक्रमहरुको तय गरिएको छ । सम्मेलनमा बाँससँग सम्बन्धित १३ जना बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले उल्लेख गरेको छ ।
सम्मेलनले तीन दिने सम्मेलनको मात्र अर्थ नराखी बाँससम्बन्धी राष्ट्रकै नीति निर्माण गर्ने सम्मेलनको बिशिष्ट अर्थ राख्ने नगरप्रमुख भट्टराईको भनाई छ । सम्मेलनबाट दिक्तेल घोषणापत्र सार्बजानिक गर्ने र सो घोषणापत्रकै आधारमा नेपालभर लागु हुने बाँस सम्बन्धी नीति तय हुने नगरप्रमुखले सुनाउनुभयो ।
सम्मेलनको क्रममा यलम्बर बाजा, बाँसुरी, बिनायो लगायत बाँसजन्य बाजाहरु बजाउने कार्यक्रम राखिएको छ । बाँसको महत्व र उपयोगिता दर्शाउन तथा प्रबद्र्दन गर्न लिङ्गे पिङ खेल्ने, बाँसमाथि चढेर भाले झिक्ने प्रतियोगिता लगायत बिभिन्न कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
करिब ४७ लाख रुपैंयाँ बराबरको खर्च हुने अनुमान गरिएको बाँस सम्मेलनका लागि नगरपालिकाको तर्फबाट पाँच लाख रुपैंयाँ मात्र बजेट बिनियोजन गरिएको छ । अन्य खर्चका लागि वाँस सम्बन्धी काम गर्ने निकायहरु, बिभिन्न मन्त्रालय, संघसंस्था लगायतबाट नगरपालिकाको खातामा आर्थिक सहयोग जुटेको उल्लेख छ । अनुमानित खर्चमा थप हुन सक्ने आँकलन नगरपालिकाको रहेको छ । जिल्ला बाहिरबाट तीन सयदेखि साढे तीन सय जनासम्मले सम्मेलनमा सहभागी बन्ने जानकारी गराईरहेको बताईएको छ ।
नगरपालिका तथा जिल्लाभर नै परम्परागत शैलीमा प्रयोग हुँदै आएको बाँसलाई पछिल्लो समय ब्यवसायिक हस्तकलाका रुपमा उपयोग गर्न थालेको पाईएको छ । बाँस तथा बाँसजन्य हस्तकलाका सामाग्रीहरुको प्रबद्र्दनमा जुट्दै आएको नगरपालिकाले कार्यालय सामाग्रीहरुमा बाँसकै प्रयोग गर्दै आएको छ ।
नगरपालिकाले बाँस सम्मेलनको प्रचार–प्रसार गर्न तथा बाँसको महत्व र उपयोगिता दर्शाउन एक महिना अगाडी खुला बाँसुरी बाद्यन प्रतियोगिता आयोजना गरेको थियो । यस्तै, नगरपालिकाले बिद्यार्थीहरुबीच बाँससँग सम्बनिधत निबन्ध प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेको थियो ।।
