Tuesday, April 21

देश विकासमा महिलाको योगदान महत्वपूर्ण छ : प्रवक्ता डा. महत

खोटाङ, २४ फागुन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देश विकासमा महिलाको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काँग्रेस प्रवक्ता डा. महतले देश विकासमा महिलाले खेलेको भूमिकाको उच्च कदर गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारका पूर्वअर्थमन्त्रीसमेत रहनुभएका काँग्रेस प्रवक्ता डा. महतले राजनीतिमा महिलाको सहभागिता ५० प्रतिशत पु¥याउनुपर्ने बताउनुभयो । “महिलाहरु जागरुक छन् । सक्रिय छन् । जिम्मेवारी पाउने बित्तिकै आफ्नो जिम्मेवारी पूरा गर्छन्”, उहाँले भन्नुभयो, “महिला सशक्तिकरणको पक्षमा हाम्रो पार्टीले पनि अभियान चलाएको छ । आगामी दिनमा महिलालाई राजनीतिक, आर्थिक, रोजगारी र सामाजिक काममा बराबरी सहभागिता गराउने योजना बनाएका छौँ ।”

त्रिधार्मिकस्थल हलेसी मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेता डा. महतले पछिल्लो समय रोजगारीका लागि युवा परदेश गएकाले गाउँघरसँगै समग्र देश नै महिलाले धान्नुपर्ने अवस्था रहेको बताउनुभयो । “गाउँसँगै समग्र देशको विकासमा महिलाहरु निरन्तर अघि बढिरहेका छन् । महिलाहरु नहुने हो भने, गाउँघर तथा देशको विकास शून्य प्राय हुन्छ । त्यसैले देश विकासमा महिलाले खेलेको भूमिकालाई उच्च सम्मान गर्नुपर्छ ।”

विश्वभर एकैसाथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले नेपाली महिला सशक्तिकरणमा थप योगदान पुगेको नेता डा. महतले बताउनुभएको छ । नेता डा. महतले हलेसी तुवाचुङ नगरपालिकाको नेतृत्व विमला राई (महिला)ले गर्नुभएको अवस्थाा नगरपालिकाको समग्र विकास देशमै उदाहरणीय रहेको पनि बताउनुभयो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले खोटाङमा क्रियाशील दुईजना पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट नगरपालिकाको समग्र विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै पत्रकार सविना अछामे र राजकुमार भट्टराईलाई नगद रु २५÷२५ हजारको पुरस्कारसहित सम्मान गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।

पुरस्कृत पत्रकार अछामे नेपाल पत्रकार महासङ्घ खोटाङका उपाध्यक्ष तथा भट्टराई सचिव हुनुहुन्छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. महत, विशेष अतिथि प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, नगरप्रमुख राई लगायतले पत्रकार द्धयलाई पुरस्कारसहित सम्मान गर्नुभएको हो ।