खोटाङ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बिना जानकारी अमेरिका बस्ने वडाध्यक्षलाई जिम्मेवारीबाट निलम्बन गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले बिना जानकारी अमेरिका बस्दै आउनुभएका खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई अनिश्चितकालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको हो ।
विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिइ अमेरिका बसेको तथा पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै प्रदेश समितिले कटवाललाई निलम्बन गरेको माओवादी केन्द्र खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो । बिना जानकारी अमेरिका बस्दै आउनुभएका वडाध्यक्ष कटवाललाई कारबाहीका लागि माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिले गत पुस–११ गते सिफारिस गरेको थियो ।
माओवादी केन्द्रको प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ र सचिव गणेश उप्रेती ‘शुशील’ले हस्ताक्षर गर्नुभएको निलम्बनपत्रमा अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नु परेको उल्लेख छ । वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका कटवाल वि.सं. २०८० माघ–१७ गतेदेखि वडा कार्यालयमा अनुपस्थित छन् ।
वडाध्यक्ष अनुपस्थित हुँदा जनताले पाउने सेवा, सुविधा, विकास निर्माण लगायतका सम्पूर्ण सेवा प्रभावित स्थानीयले बताएका छन् । भ्रमण भिसामा अमेरिका जानुभएका वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वदलीय÷सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै गत कातिकमा वडा कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।
छोरी÷ज्वाइँले पठाएको भिसामा अमेरिका जानुभएका वडाध्यक्ष कटवाल नफर्किएपछि माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि वडाध्यक्षको बिरोधमा ताला लगाउन सहभागी भएका थिए । नेकपा (माओवादी केन्द्र)सँगै, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मात्तिमले संयुक्त विज्ञप्ति जारी गरेर वडाध्यक्ष कटवालको बिरोध जनाएको छ ।
वडाध्यक्ष कटवाल वि.सं. २०७९ सालमा पनि साढे दुई महिना अमेरिका बसेर फर्किनुभएको थियो । वडाध्यक्ष कटवालले त्यसबेला चारजना वडा सदस्यलाई पालैपालो १५÷१५ दिनको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
भ्रमण भिसामा अमेरिका जानुभएका वडाध्यक्ष कटवाल दशैँ÷तिहार मान्न पनि नफर्केपछि अमेरिकामै बस्नका लागि पिआरको प्रक्रियामा रहेको स्थानीयबासीले आरोप लगाएका छन् । निर्वाचित वडाध्यक्ष अमेरिका गएर बसेको विषयमा साकेला गाउँपालिकाको कार्यालय अहिलेसम्म केही बोलेको छैन । आक्रोशित स्थानीयले भने, जनताको जनमतलाई बेवास्ता गर्ने वडाध्यक्षलाई तत्काल कानूनी कारबाही गरेर अर्को वडाध्यक्षको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।
