Tuesday, April 21

पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमै दुर्लभ रेडपाण्डा भेटिए

–रामधन राई
खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक बन क्षेत्रमा बिश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न बन क्षेत्रको भ्रमणमा गएका सोही नगरपालिकाका टोलीले मेरुङ सामुदायिक बनमा रेडपाण्डा भेट्टाएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी बैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सबमा केन्द्रीत हुँदै चैत्र १ गते बन क्षेत्र प्रबेश गरेको टोलीले चौथो दिन रेडपाण्डा भेट्न सफल बनेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डा सम्बन्धी स्थलगत अध्ययन गर्ने समेत उदेश्यले ६ नम्बर नेर्पाका वडाध्यक्ष माधब राईको संयोजकत्वमा टोली जुटेका थिए । रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाईमा भेटिएको वडाध्यक्ष राईले सुनाउनुभयो । बिभिन्न समुहमा बिभााजित भएर खोजी गर्ने क्रममा बिहान आठ बजेर ४० मिनेट जाँदा रुखमा सुतिरहेको अवस्थामा रेडपाण्डा भेटेको टोलीमध्येका एक समुहमा आबद्द बुवालुङका युवा प्रचण्ड राईले जनाउनुभयो ।

भेटिएको रेडपाण्डा करिब अढाई बर्षको भाले भएको मेरुङ सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पल्लबसिंह राईले बताउनुभयो । उक्त बनमा करिब पाँच वटा रेडपाण्डा हुन सक्ने रेडपाण्डा हेरालु स्थानीय पुष्पलाल गिरीको अनुमान छ । आकार र तौलको आधारमा रेडपाण्डालाई पाँच प्रकारमा बिभाजन गरिने हुँदा सो बनमा पाँचै प्रकारका रेडपाण्डा पाउन सकिने गिरीको प्रतिक्रिया छ । नगरपालिकाको कोप्चे लगायत अन्य बनमा पनि रेडपाण्डा भेटिने गरेको स्थानीयले बताउँदै आएका छन् । रेडपाण्डाले बिशेषगरी मालिङ्गो बाँसको टुसा खान मन पराउने हुनाले मालिङ्गो भएको क्षेत्रमा बढी भेटिने सम्भावना हुने स्थानीयबासीको अनुभब छ ।

रेडपाण्डा खोजीका लागि टोली संयोजक राई सहित महोत्सब संयोजक तथा वडा नम्बर १० पाथेकाका अध्यक्ष मुगाधन राई, १२ नम्बरका वडाध्यक्ष दानबहादुर राई लगायतका टोली रहेका छन् । २८ जनाको बृहत टोलीमा नगरपालिकाको लेखा अधिकृत राजकुमार राई, शुभम फाउण्डेसनका निर्देशक सुर्य राई, पत्रकार, बनपैदावर तथा जैवीक बिबिधता संरक्षण सम्बद्द तथा सामुदायिक बन सम्बद्द ब्यक्ति लगायत रहेका छन् ।

यस कार्यले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’अन्तर्गत नगरपालिकाले गर्ने रेडपाण्डा तथा थार महोत्सब थप प्रभावकारी बन्ने र दीर्घकालिन योजना सफल बनाउन समेत मद्दत पुग्ने ठहर छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’अन्तर्गत खोटाङ र भोजपुरका बिभिन्न स्थानीय तह तथा संघ–संस्थाले विभिन्न महोत्सवहरू आयोजना गर्ने योजना अनुरुप दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव गर्ने तयारी गरेको नगरप्रमुख तीर्थराज भट्टराईले उल्लेख गर्नुभएको छ ।

यसअघि, क्यामेरा ट्र्यापमार्फत फेला पर्नु तथा स्थानीयले प्रत्यक्ष भेटिरहेको कुरा सुनाउनुले समेत जिल्लाका केपिलासगढी गाउँपालिकाका फेदी लगायत माथिल्लो भेगका बन क्षेत्रमा रेडपाण्डा पाईने पुष्टी भएको थियो । जिल्लामा सामुदायिक बन समुहको सक्रियता तथा बनसम्बन्धी बिभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन भएका थिए ।

बिशेषगरी, फेदी क्षेत्रका बिभिन्न सामुदायिक बन समुहमा आबद्द स्थानीयहरु स्वस्फुर्त रुपमा रेडपाण्डाको संरक्षण तथा प्रचारप्रसार अभियानमा जुटेका थिए । फेदीबासीले बन क्षेत्रमा रेडपाण्डा संरक्षण तथा प्रचारप्रसार सम्बन्धी हार्डिङ बोर्ड राख्नका साथै फोटो खिचेर उपलब्ध गराउनेलाई नगद पुरसकार दिने कार्यमा समेत अग्रसर बनेका थिए ।