खोटाङ, १० चैत । रावाबेँसी गाउँपालिका–२ खार्पास्थित खार्पा प्रहरी चौकीको नवनिर्मित सुविधा सम्पन्न आरसिसी कार्यालय भवन उद्घाटन गरिएको छ । भ्याटसहित रु दुई करोड ९५ लाख ३२ हजार लागतमा निर्माण भएको सुविधा सम्पन्न कार्यालय भवन आज (आइतबार) कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले उद्घाटन गर्नुभएको हो ।
वि.सं. २०६९ सालमा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साबिक खार्पा गाउँ विकास समिति (गाविस)को पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो । स्थापना भएकाे १२ वर्षसम्म साँघुराे तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएकाे प्रहरी चाैकी खार्पाका लागि नयाँ भवन निर्माण भएर प्रयोगमा आएसँगै सेवा प्रवाहमा सहज हुने जनाइएकाे छ ।
नवनिर्मित भवनमा सानो ठुलो गरी ११ वटा कोठा रहेको छ । साढे दुईतले भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, एटेज शौचालयसहितको महिला र पुरुष ब्यारेक, कार्यालय प्रमुख आवाश, मरोजञ्जन हल लगायतका कोठाहरु निर्माण गरिएको छ ।
भवनसँगै किचन (भान्छाघर) र शौचालय पनि निर्माण गरिएको छ । भवन उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक अधिकारीले प्रहरीले समाजमा हुने अपराध रोकथात तथा नियन्त्रण गर्ने मात्र नभएर प्राकृतिक एवम् अप्राकृतिक विपद्हरु पनि रोकथाम तथा नियन्त्रण गर्नु पर्ने बताउनुभयाे ।
सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उहाँकाे भनाइ थियो । समाजलाई सुरक्षित बनाउन प्रहरी मात्र नभएर सबै समुदायका नागरिक एक ठाउँमा उभिन आवश्यक रहेको पनि प्रहरी नायब महानिरीक्षक अधिकारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख काैशिला गुरुङ, प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, जिल्लाका सबै सुरक्षाका निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । प्रहरी चाैकी खार्पाकाे आरसिसी भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयले खरिद गरेर प्रहरीलाई उपलब्ध गराएकाे हाे ।
