खोटाङ, १० चैत्र । केपिलासढी गाउँपालिका–२ का ६६ वर्षीय ओमप्रकाश राई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेमा मृत अवस्थामा फेला परेको छ । कवाडीको काम गर्दै आएका वृद्ध राई आइतबार बिहान करिब ६ बजे बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा मृत अवस्थामा फेला परेका हुन् ।
बोडेमै बस्दै आएका मृतक राईको कान र टाउकोमा चोट देखिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयो । राईको शब शंकास्पद अवस्थामा पाईएकाले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाईएको डिएसपी न्याौपानेको भनाई छ ।
शवको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि केएमसी अस्पताल पठाइएको छ । हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाए पनि अहिलेसम्म कोही पक्राउ भने परेका छैनन ्।।
