खोटाङ, २२ वैशाख । किरात राईहरुको महान चाड साकेला उँभौलीको अवसर पारेर खोटाङमा बृहत मुन्दुमी साँस्कृतिक साँझको तयारी गरिएको छ । किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्य समितिको संयोजनमा आगामी वैशाख–२७ गते दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा मुन्दुमी साँझ आयोजना गर्ने तयारी गरिएको हो ।
किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङ, किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ र किरात सेवा समाज खोटाङको आयोजनामा कार्यक्रम सम्पन्न हुने किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिका महासचिब पदम थुलुङ राईले सुनाउनुभयो । कार्यक्रममा चर्चित गायिका पार्वती राई, चर्चित गायक भिषण मुकारुङ राई, गायक तथा सँगीतकार राई नवीन, गायिका ईन्द्रकला राई लगायतका गायक–गायिकाको प्रस्तुति रहने महासचिब थुलुङ राईले जनाउनुभयो ।
उँभौलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान साँझमा मेनुका राई, सुशिला राई, डिबी राई, खुशेनिछो चाम्लिङ, धनिराम नछुङ तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकमध्येका किरात राई यायोक्खा जिल्ला कार्यसमिति खोटाङका अध्यक्ष युग्सन किरातले बताउनुभयो । उक्त साँझमा साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय अध्यक्ष तथा अन्वेशक शालिक सताशक राई, सस्कृतिकर्मी मुकेश राई लगायतको विशेष उपस्थिति रहने जनाइएको छ ।
वैशाख–२९ देखि खोटाङ लगायत किरात राई समुदाय रहेका देश– बिदेशमा उँभौली(साकेला)धुमधाम शुरु हुने जनाइएको छ । अन्नबाली नष्ट नहोस, रोगव्याधी नलागोस, सुव्यफाव्य होस भन्दै भूमि तथा पित्रीको पूजाआजा गर्दै उँभौली शुरु गरिन्छ ।
जलचर–थलचर उँधोदेखि अर्थात बेँसीदेखि लेकतिर लाग्ने समय उँभौली र उँभोदेखि उँधो झर्ने बेला या जाडोयाम मङ्सिरदेखि उँधौली मान्ने गरिएको छ । साकेला उँधौलीको अवसरमा महिना दिनसम्म तथा उँभौलीको अवसरमा १५ दिनसम्म शुभकामना आदानप्रदान गर्दै साकेला सिली नाचेर चाड मनाउने चलन छ ।

