खोटाङ, १ जेठ । दिक्तेलमा सम्पन्न खुला राष्ट्रिय टेवलटेनिस प्रतियोगितामा एभिएम टेबलटेनिस क्लब ललितपुरले बर्चस्व जमाएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सिनियर पुरुषतर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदाल च्याम्पियन बन्नुभएको छ ।
गदालले २५ हजार रुपैयाँ नगदसहितको पुरस्कार प्राप्त गर्नुभयो। बुधबार सम्पन्न प्रतियोगितामा रुपन्देहीका बुद्धिमान गुरुङले दोश्रो स्थान ओगट्दै १२ हजार पाँच सय र तृतीय हुने सुनसरीका सिदार्थ तामाङ र एभिएम टेवलटेनिस क्लब ललितपुरका प्रजिल भट्टराईले जनही छ हजार दुई सय पचाससहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नुभएको छ ।
यस्तै, जुनियर महिलातर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरकै साइरा शाक्य प्रथम बन्नुभयो। शाक्यले दश हजार रुपैयाँ नगद सहितको पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।प्रतियोगितामा सोही क्लबकी अर्सना महर्जन दोश्रो बन्नुभयो । उहाले पाँच हजार रुपैयाँ तथा तृतिय स्थान ओगट्दै खोटाङकी टोनिस्मा पोखरेल र ज्ञानु राईले जनही दुई हजार पाँच सय रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

जुनियर पुरुषतर्फ पनि एभिएम टेबलटेनिस क्लब ललितपुरकै जयस्नु महर्जन प्रथम, एभिएमकै प्रजिल भट्टराई दोश्रो बन्नुभयो । महर्जन र भट्टराईले क्रमशः नगद १५ हजार र सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नुभयो ।तृतीय हुने रुपन्देहीका बुद्धिमान गुरुङ र समिर खत्रीले तीन हजार सात सय पचाससहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
लिककम नकआउटका आधारमा भएको प्रतिस्पर्धामा १९ वर्षमूनिका जुनियर महिलामा ४ जना, १९ वर्षमूनिका जुनियर पुरुषमा २४ जना र सिनियर पुरुषमा २६ जना खेलाडी सहभागी थिए। महोत्सव अन्तर्गत जेठ ४ गते साहित्य महोत्सव हुने प्रतिष्ठानका अध्यक्ष सन्जयकुमार राईले बताउनुभयो ।
महोत्सबमा एक जना राष्ट्रियस्तरका महिला साहित्यकारलाई पुरस्कारसहित सम्मान गर्ने आयोजकले उल्लेख गरेको छ । दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव अन्तर्गत माटिकोरेस्थित बहुउद्देश्य कबर्डहलमा टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको हो ।
