खोटाङ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघि बुझाएको मागका बारेमा स्मरण गराएको छ । नेकपा (एकीकृत समाजवादी) खोटाङले बिहीबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै गत वैशाख–२१ गते प्रधानमन्त्री ओलीलाई आफूहरुले बुझाएको नौँ बुदे मागका बारेमा कुनै सुनुवाइ नभएपछि पुनः स्मरण गराएको हो ।
एकीकृत समाजवादी खोटाङले देशमा विद्यमान अवस्थामा दुई खाले शिक्षा प्रणाली र यसलाई अन्त गरेर उच्च शिक्षासम्म निःशुल्क तथा आधुनिक किसिमको गुणस्तरीय शिक्षा प्रदान गर्न, आवश्यक स्वास्थ्य उपकरण, प्रयाप्त औषधिका साथै जनशत्तिसहितको अस्पताल निर्माण गरेर जनताको पहुँचमा निःशुल्क स्वास्थ्य सेवा पु¥याउन तथा भ्रष्टाचार, बेथिति र ढिलासुस्ती नियन्त्रण गर्न माग गरेको थियो । यस्तै, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न, कृषि क्षेत्रमा लागेका व्यक्तिहरुलाई व्यवसायिक बनाउन, पर्यटकीय क्षेत्रहरुको स्तरोन्नति गर्दै नेपाल भ्रमणका लागि आउने विदेशी पाहुनाहरुको सुरक्षाको ग्यारेन्टी गर्न, पिछडिएका समुदायको हक तथा अधिकार सुनिश्चित गर्न प्रधानमन्त्री ओली समक्ष माग गरिएको स्मरणपत्रमा उल्लेख छ ।
छुवाछुत, महिला हिङ्सा, भेदभाव, कुरीति, कुसंस्कार लगायत सबै प्रकारका विभेद अन्त्य गर्ने नीति निर्माण गरेर कार्यान्वयनमा ल्याउन, सत्ता लिप्सामा भन्दा नेपाली जनताका आवश्यकता र मागलाई सम्बोधन गर्न, नेपाली जनतालाई रैतीबाट जोगाउँदै यो देशका मालिक बनाउन एकीकृत समाजवादी खोटाङका जिल्ला उपाध्यक्ष झुलेन्द्र विश्वकर्माले हस्ताक्षर गर्नुभएको स्मरणपत्रमा उल्लेख छ । यस्तै, छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध सुदृढ बनाउँदै असमान सन्धी तथा सम्झौताहरु पुनरावलोकन गर्न, नेपाली उद्योगहरुको विकास गर्दै उद्योगीहरुलाई वित्तीय सुविधा दिन, राष्ट्र सम्पत्ति खर्चेर गरिने हरेक लगानीलाई उत्पादन र रोजगारीसँग जोड्न आग्रह गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई यसअघि बुझाइएको ज्ञापनपत्रमा साना घरेलु उदोगलाई विशेष ध्यान दिन, राष्ट्रिय पुँजीको संरक्षण र उपयोग गर्दै देशलाई औद्योगीकरण गर्न सुझाव दिइएको एकीकृत समाजवादीले बझाएको स्मरणपत्रमा उल्लेख छ । स्मरणपत्र लिएर केन्द्रीय सदस्य एवम् पूर्व सांसद कुलप्रसाद फुयाल, केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बबि चाम्लिङ, जिल्लास्थित पार्टीका पदाधिकारी जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
सङ्घीय लोकतान्त्रिण गणतन्त्र लगायत देशमा प्राप्त उपलब्धिहरु खारेज गराउन विभिन्न निकायबाट लोकतन्त्रमाथि प्रहार भइरहेकोतर्फ प्रधानमन्त्री ओलीलाई सचेत गराउँदै विद्यमान समस्याहरु समाधानका लागि गोलमेत सम्मेलनको आवश्यकता रहेको एकीकृत समाजवादी खोटाङले जनाएको छ । पार्टीका जिल्ला उपाध्यक्ष विश्वकर्माले वाचन गरेर बुझाउनुभएको स्मरणपत्र बुझ्नुहुँदै निमित्त प्रमुख जिल्ला अधिकारी सागर साहले सम्बन्धित निकायमा पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
