खोटाङ, ९ जेठ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको १ नं. प्रदेश सचिवमा खोटाङका शुभलाल राई ‘आदेश’ निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएल नेपालको ईटहरीमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले आदेशलाई सर्वसम्म् सचिवमा चयन गरेको हो ।
१३ वर्षको कलिलो उमेरदेखि तत्कालीन नेकपा माओवादी पार्टीमा सक्रिय हुनुभएका आदेश वि.सं. २०६६ सालदेखि वाईसिएल नेपालमा आवद्ध भएर सङ्गठनमा सक्रिय रहनुभएका छ । वि.सं. २०६२ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ताका रुपमा जनकलाकार हुँदै वि.सं. २०७० सालमा वाईसिएल नेपाल विशेष प्रदेश समितिको संस्थापक सचिव तथा पहिलो राष्ट्रिय सम्मेलनमा उमेर समूहबाट केन्द्रीय सदस्य र दोस्रो राष्ट्रिय सम्मेलनमा खुला केन्द्रीय सदस्यका साथै खोटाङ इन्चार्ज चयन हुनुभएको थियो ।
रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस काठमाडौँबाट अङ्ग्रेजी विषयमा एमएसम्मको अध्ययन पूरा गर्नुभएका आदेश हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थायी बासिन्दा हुनुहुन्छ । १ नं. प्रदेशमा पर्ने १४ जिल्लाका प्रतिनिधि सहभागी वाईसिएल नेपालको प्रदेश सम्मेलनले प्रदेश सचिवसँगै खोटाङबाट नारायण राई, धनन्जय राई र पुष्कल राईलाई प्रदेश सदस्यमा चयन गरेको छ ।
वाईसिएल नेपालको ९१ सदस्यीय प्रदेश समितिको अध्यक्षमा आयन्द्रबिक्रम लिम्बू, उपाध्यक्षहरुमा दिलबिक्रम लिम्बू र टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई ‘आदेश’, सहसचिवहरुमा ईश्वर पोखरेल, दिलिप जगेबू, उषा परियार, जनक ल्वागुन, रोहितकुमार आङ्बो र टेकबहादुर रसाइलीलाई चयन गरेको छ । पार्टीका केन्द्रीय उपमहासचिव हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा जेठ–६, ७ र ८ गत भएको सम्मेलनले युवराज राईलाई कोषाध्यक्षमा चयन गरेको जनाइएको छ ।
