खोटाङ, २३ असोज । जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका ४३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाईकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।
जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाईकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लाने फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा आर्थिक अभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारी साधन भरिभराउ हँुदा भनेजस्तो सिट नपाएर माइती÷मावली जान नपाउने छोरीचेलीलाई लक्षित गरेर अभियान चलाइएको हो ।
दसैँको टीका (असोज–१६ देखि असोज–१९ गते)सम्म सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई माईत मावल र घर फर्काउने सेवा दिइएको थियो । अभियानमा जोडिएका युवाले ६६ वटा मोटरसाईकल र शुभम् फाउण्डेसनको एउटा चारपाङ्ग्रे जीपमार्फत् सेवा दिएका हुन् ।
जिल्लाका दशवटै स्थानीय तहमा संयोजक तोकेर सञ्चालन गरिएको अभियान अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारबाट २०५ जनालाई मोटरसाईकल र ९० जनालाई जीपबाट निःशुल्क यातायात सेवा प्रदान गरिएको युवा समूहले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारबाट २३ जनालाई मोटरसाईकलमा, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारबाट ७५ जना, दिप्रुङ चुइचुम्माबाट २१ जना तथा रावाबेँसीबाट २२ जनाले सेवा लिएका छन् ।
पहाडी भूगोल, कच्ची सडक र वर्षायामका कारण बिग्रेर अवरुद्ध बनेका सडकमा सबैतिर सार्वजनिक यातायात पुग्न नसक्ने अवस्था भएपछि छोरीचेलीलाई घरदेखि माइती तथा माइतीघरदेखि आफ्नो घरसम्म आवतजावत गराउन अभियान सञ्चालन गरिएको संयोजक राईले जानकारी दिनुभएको छ । “बिना स्वार्थ चाडपर्वमा समयमै गन्तव्य पुग्न र फर्कन सहज होस् भन्ने मानवीय भावनाले अभियान चलाएका हौँ । अब तिहार लक्षित अभियान पनि चलाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “तिहारका लागि आउँदो कातिक–५ गतेदेखि ७ गतेसम्म अभियान चलाउने तयारी गरिएको छ । यस वर्षको दसैँ र तिहारमा करिब एक हजार छोरीचेलीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।”
यस वर्षका लागि अभियान चलाउन जनसम्पर्कका लागि दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय नै स्थापना गरिएको थियो । मौसममा आएको खराबी तथा सबै ठाउँमा मोबाईल फोनको टावर नटिप्ने भएकाले सम्पर्कका लागि सचिवालय स्थापना गरेर निःशुल्क यातायात सेवा प्रदान गरिएको जनाइएको छ ।
आर्थिक अवस्था कमजोर भएका र सवारी साधनको पहुँच नभएका छोरीचेलीलाई घरबाट माइतीघरसम्म र माइतीघरबाट घरसम्म आउनेजाने सेवा दिइएको युवा समूहले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको सचिवालयमा सेवाग्राहीको विवरण सङ्कलन गर्दै निःशुल्क यातायात सेवा दिइएको सचिवालय सदस्य अनिशा रम्तेलले जानकारी दिनुभएको छ ।
युवा समूहले सञचालन गरेको अभियानका लागि विभिन्न निकायले इन्धन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो समूहले गत वर्षको दसैँ–तिहारमा ४१५ जना छोरीचेलीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको थियो ।
