Monday, April 20

केपिलासगढीमा बढी असुलिएको भाडा यात्रुलाई फिर्ता गर्ने सहमती

खोटाङ, २३ असोज । केपिलासगढी गाउँपालिकामा चाडपर्वको मौका छोपेर यातायात व्यवसायीले बढी भाडा लिएको विषयमा युवा समूहले आपत्ति जनाएपछि बढी लिएको भाडा यात्रुलाई फिर्ता गर्ने सहमती भएको छ । दसैँमा राजधानी काठमाडौँबाट केपिलासगढी गाउँपालिका क्षेत्रमा आउने सार्वजनिक सवारी साधनले बढी भाडा लिएको भन्दै युवा समूहले आपत्ति जनाएपछि तोकिएभन्दा बढी लिएको भाडा प्रमाणको आधारमा व्यवसायीले सम्बन्धित यात्रुलाई फिर्ता गर्ने सहमती भएको हो ।

काठमाडौँबाट बाक्सिलासम्म टाटासुमो (जिप)को भाडादर रु दुई हजार ७०० कायम भएपनि व्यवसायीले रु तीन हजार ५०० सम्म लिएको पाएपछि युवा समूहले सम्बन्धित यात्रुलाई फिर्ता गराइ दिन गाउँपालिकालाई ध्यानाकार्षण गराएको थियो । चाडपर्वको मौका छोपेर यातायात व्यवासयीले बढी भाडादर लिएको लगायतका विषयमा गाउँपालिको ध्यानाकर्षण गराउन पालिकाभित्रका युवा गाउँपालिकाको कार्यालयमा पुगेको थियो ।

गाउँपालिका उपप्रमुख गुरुराज राईसहितको क्षलफलमा बढी लिएको भाडा यातायात व्यावसायीले सम्बन्धित यात्रुलाई फिर्ता गर्ने सहमती भएको स्थानीय सविन थुलुङ राईले जानकारी दिनुभएको छ । युवा समूहले सवारी साधन गुडिरहेको अवस्थामा चालकले धुम्रपान सेवन गर्ने, मोबाइल फोन चलाउने लगायतका कार्यले दुर्घटना हुने भएकाले त्यस्तो काम तत्काल रोक्नसमेत आग्रह गरेको छ ।

तोकिएभन्दा बढी लिइएको भाडामा सबैको रु ५०० का दरले फिर्ता गर्ने सहमती गरिएको केपिलासगढी गाउँपालिका क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन गरिरहेको पब्लिक मध्यपहाडी यातायात प्रा.लि.का अध्यक्ष राहुल तामाङको बताउनुभएको छ । असोज–१० गतेसम्म तोकिएकै भाडादर अनुसार आफूहरुले यात्रु ल्याएको र १० देखि यता केही दिन धेरै यात्रु भएकाले केही सुमोहरु रिजर्भमा आएका कारण बढी भाडा लागेको अध्यक्ष तामाङको भनाइ छ ।