खोटाङ, २४ कातिक । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति खोटाङले जिल्लाभरका शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराइदिन दशवटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई ध्यानाकर्षण गराएको छ । नेपाल सरकारको कार्यविधि आथिर्क वर्ष २०८०÷८१ को शीर्षक २.२ अनुसार शिक्षकको तलब–भत्ता तथा सेवा सुविधामा स्थानीय भत्ता स्पष्ट उल्लेख भए पनि खोटाङका शिक्षक अझै पनि सो सुविधा पाउनबाट वञ्चित रहेको भन्दै ध्यानाकार्षण गराएको हो ।
आर्थिक वर्ष २०८२÷८३ को कार्यक्रम कार्यान्वयन पुस्तिकाले पनि स्थायी, करार तथा प्राविधिक धारमा कक्षा ९–१२ मा कार्यरत प्रशिक्षकहरूलाई वार्षिक १०.५ महिनाको स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको शिक्षक महासङ्घले जनाएको छ । पहिलो त्रैमासिकका लागि स्थानीय तहमा निकासा भइसकेको भए पनि स्थानीय तहले वितरण नगरेको महासङ्घको आरोप छ ।
शिक्षकहरू विद्यालय सुधारमा समर्पित रहँदा पनि न्यूनतम सेवा सुविधा नपाउनु अन्यायपूर्ण भएको महासङ्घले जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा एकसाथ बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “नियमानुसार प्राप्त हुने स्थानीय भत्ता तत्काल उपलब्ध नगराए आगामी दिनमा सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने छौँ ।”
महासङ्घले शिक्षकको मनोबल, जीवनस्तर तथा व्यवसायिक सम्मान सुनिश्चितताका लागि स्थानीय भत्ता कार्यान्वयन गर्न सबै पालिकालाई गम्भीर बन्न आग्रह गरेको छ । महासङ्घको आग्रहलाई बेवास्ता गरेको खण्डमा चरणवद्ध आन्दोलन गर्ने निर्णयसमेत गरिएको महासङ्घका अध्यक्ष मीनकुमार दाहालले जानकारी दिनुभएको छ ।
