Tuesday, April 21

आत्महत्या न्यूनीकरण गर्न ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक

खोटाङ, ३ मङ्सिर । आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले तयार गरिएको ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक प्रर्दशन सुरु गरिएको छ । बालाचतुर्दशीको अवसर पारेर बुधबार खोटाङको धार्मिक एवम् पर्यटकीयस्थल कालिका भगवती मन्दिर परिसरमा प्रदर्शन गरिएसँगै नाटकको औपचारिक यात्रा सुरु गरिएको हो ।

बालाचतुर्दशीको अवसर पारेर कालिका भवगती मन्दिर परिसरमा मृतकहरूलाई सम्झेर सतबीउ– पलबीउ छर्ने धार्मिक परम्परा तथा यस दिन नागरिकको ठूलो उपस्थिति हुने भएकाले नाटक प्रदर्शन गरिएको कार्यक्रम संयोजक सोनामहाङ राईले बताउनुभयो । पछिल्लो समय जिल्लामा आत्माहत्या गर्ने व्यक्तिको सङ्ख्या बिकरालरुपमा बढ्दै गएपछि न्यूनीकरण गर्न युवा समूहले सडक नाटक प्रदर्शन सुरु गरेका हुन् ।

जिल्लाका एक युवा समूहले तयार पारेको सडक नाटक भोलि मङ्सिर–४ गते दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा बिहान ११ः०० बजे प्रदर्शन गरिने जनाइएको छ । सोही दिन दिउसो १ ः०० बजे माउन्ट एभरेष्ट बोर्डिङ स्कूल र दिउसो ३ ः०० बजे पञ्च माध्यमिक विद्यालयमा प्रदर्शन गरिने संयोजक राईले जानकारी दिनुभएको छ ।

यही मङ्सिर–५ गते बिहान साढे ७ ः ०० बजे दितmेल बहुमुखी क्याम्पस तथा सोही दिन बिहान १० ः ०० बजे जिल्ला समन्वय समितिको कार्यालय अगाडि र दिउसो १ ः ०० बजे दिक्तेल बोर्डिङ स्कूलमा प्रर्दशन गरिने जनाइएको छ । यस्तै मङ्सिर–६ गते बिहान ७ ः ०० बजे हाटडाँडामा प्रर्दशन गरिने बताइएको छ ।

नाटकले जीवनमा केही असफलता वा अप्ठ्यारा आउँदैमा आत्महत्या गर्नु समाधान होइन भन्ने सन्देश दिन खोजेको छ । समाजमा फैलिँदो मानसिक तनाव र निराशालाई घटाउने तथा सकारात्मक सोच विकसित गराउने लक्ष्यका साथ ‘शून्यदेखि शिखरसम्म’ नाटक तयार गरिएको आयोजकले जनाएको छ ।

जिल्लामा आत्महत्या गर्नेको सख्या अत्यधिक बढ्दै गएपछि यसको न्यूनीकरणको लागि युवाले नाटकमार्फत सन्देश दिन खोजेका छन् । ब्रह्मकुमारी राजयोग उपसेवा खोटाङको आयोजनामा प्रदर्शन सुरु गरिएको ‘शून्यदेखि शिखरसम्म’ नाटक सुजन आचार्याको निर्देशनमा निर्माण गरिएको हो ।

नाटकमा ललिजन राई, भीषण कार्की, सन्तोष गिरी, सुनिल गिरी, आकृति भुजेल, सोनामहाङ राई, गुराँस आचार्य, मनसुना आचार्य, कमल पाण्डे, शुसिल भट्राई, मनिष कठेत र समिक्षा कटुवालले अभिनय गरेका छन् । जिल्लाकै स्थानीय कलाकारले तयार पारेको सडक नाटक ‘शून्यदेखि शिखरसम्म’ले बिकराल बन्दै गएको आत्महत्या न्यूनीकरणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।

दश स्थानीय तह रहेको खोटाङमा गत कातिक महिनामा मात्र १२ जनाले आत्महत्या गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा एक बालिका, छजना पुरुष र पाँच जना महिला गरि १२ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।