Monday, April 20

साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

खोटाङ, ४ मङ्सिर । साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाईन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रुपमा म्यानुअल प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो ।

गृह मन्त्रालय अन्तरगतको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभएको छ । “अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि, वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ । यसरी प्रमाणित भएको कागजात अनलाईनमा प्रविष्ट हुन्छ । जसका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।” उहाँले भन्नुभयो ।

अनलाइन प्रणालीले नागरिकता सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता, एकरूपता र समय बचत हुने भएकाले अनिवार्यरुपमा अनलाइन प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभएको छ । यो प्रणाली लागू भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजमा डिजिटलीकरणको थप अध्याय सुरु भएको र गाउँपालिकालाई डिजिटलाईज गाउँपालिका बनाउने कार्यमा एक इट्टा थपिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ ।

जिल्लाको सबैभन्दा सानो (पाँचवटा वडा रहेको) साकेला गाउँपालिकामा जन्म, मृत्यु, बसाईसराई, बिवाहदर्ता, सम्बन्धविच्छेद जस्ता पञ्जीकरणको सम्पूर्ण काम अनलाईन प्रणालीमार्फतनै जारि हुँदै आएको थियो । स्थानीय सेवाग्राहीले यस कदमलाई स्वागत गर्दै यसले सेवाग्राहीलाई समेत छिटो, पारदर्शी र झन्झटमुक्त सेवा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।