Monday, April 20

हलेसी तुवाचुङले तीन घर विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर बनाइदिने

खोटाङ, २८ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ । नगरपालिकाको १३६ औँ कार्यपालिका बैठकले नगरपालिकाभित्र बसोवास गरिरहेका तीन घर विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तरगत भूकम्प–प्रतिरोधी घर निर्माण गरिदिने निर्णय पारित गरेको हो ।

वडा नं.–१० अर्खौलेका सरिता सार्की र वीरबहादुर सार्की, वडा नं.–६ मङ्गलटारका भया दमाई र वडा नं.–२ डिकुवाका देशवीर राईको परिवारलाई घर निर्माण गरिदिने निर्णय गरिएको गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “अर्खौले, मङ्गलटार र डिकुवाकागरी तीन विपन्न घरपरिवारलाई घर निर्माण गरिदिने निर्णय पारित गरेका छौँ । उनीहरुको अवस्था निक्कै नै नाजुक छ”, उहाँले भन्नुभयो, “उनीहरुका लागि चार महिनाअघि नगरपालिकाको तर्फबाट नगद रु १५–१५ हजार र खाद्यान्न उपलब्ध गराएका थियौँ । दैनिक ज्यालादारीको काम गरेर गुजारा गरिरहेका उनीहरुको ओत लाग्ने घर छैन । ओत लाग्ने ठाउँ व्यवस्थापन गर्नका लागि उनीहरुलाई भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने निर्णय पारित गरेका हौँ ।”

परिवारसहित पिरन्ते जीवन बिताइरहेका अर्खौलेका सरिता सार्की र वीरबहादुर सार्कीको १२ वर्षीया छोरी तारा सार्की गत साउन–२९ गते दिक्तेल रूपाकोट मझुवागढी–३ बाम्रामका राम हिङ्माङको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । अरुको घर तथा निर्माण योजनामा ज्यालादारीको काम गर्दै जीवन निर्वाह गरिरहेका सार्की परिवारको ओत लाग्ने आफ्नै घर छैन ।

बाम्राङमा कोठा भाडा लिएर बस्दै आएका सार्की दम्पत्ती अहिले सात जनाको परिवारसहित स्थानीय दत्तबहादुर सार्कीको घरमा आश्रय लिएर बस्नुभएको स्थानीयले बताएका छन् । छोरीको मृत्युपछि जन्मस्थल अर्खौले फर्किएका सार्की परिवार अहिले पनि ज्यालादारीकै काम गरेर गुजारा गरिरहेका छन् ।

मङ्गलटारकी भया दमाई एकल महिला हुनुहुन्छ । वृद्धावस्थाकी दमाई स्थानीय काँसीराज राउतको घरमा बस्दै आउनुभएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ ।

डिकुवाका देशवीर श्रीमतीसहित आफ्नै जग्गामा बाँसको कटेरो बारेर बस्दै आउनुभएको छ । खेतपातीका कामसमेत गर्न नसक्ने अवस्थाका वृद्ध दम्पत्तीका लागि ओत लाग्ने घर निर्माण गरिदिनका लागि वडा कार्यालयमा कार्यरत प्राविधिकको सहयोगमा लागतसहितको स्टिमेट बनाउने काम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।