
खोटाङ, ६ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत पराजुलीले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।
दश स्थानीय तह रहेको जिल्लाबाट डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ । स्वतन्त उम्मेदवारी दर्ता गराउनुभएका डा. राई नेपाली काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेलगत्तै जिल्ला सभापतिमा पराजित हुनुभएको व्यक्ति हुनुहुन्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार माघ–७ गते (भोलि) उम्मेदवारविरुद्ध उजुरी, सोही दिन उम्मेदवारको नामावली प्रकाशन, माघ–९ गते उम्मेदवारले आफ्नो नामावली फिर्ता लिन पाउने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन नेपाल सरकारले देशभर निर्वाचन प्रहरीसमेत छनोट गरिरहेको छ ।
आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । आगामी फागुनमा हुने निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ ।
जिल्लामा हुने यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा पूरानै राजनीतिक दलका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । वि.सं. २०७९ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले जित्नुभएको थियो ।
वि.सं. २०७९ सालमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २४ हजार २७१ मत प्राप्त गरेको थियो । यस्तै, नेपाली काँग्रेसले १८ हजार ६७२, तत्कालीन नेकपा (माओवादी केन्द्र)ले ११ हजार ८४५, नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३६, जनता समाजवादी पार्टीले दुई हजार २४८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक हजार ४९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २५५ मत ल्याएको थियो ।
